७२ लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ


 


धनगढी, असोज ८
कैलालीमा अबैध रुपमा नेपाल भित्राउन लागिएको झण्डै ७२ लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीले कैलालीको भजनी नगरपालिका वडा नम्वर ३ बाट ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैँयासहित लम्की चुहा नगरपालिका १ का ३१ वर्षीय कृष्णराज जोशीलाई पक्राउ गरेको हो । बरामद गरिएको भारतीय रुपैयाँ नेपाली १ करोड १४ लाख ८ सय ८० रुपैयाँ हुन्छ ।

भारतबाट आलुको बोरामा भारतीय रुपैयाँ ल्याउँदै गर्दा रकमसहित जोशीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षण विष्णु भट्टले जानकारी दिनुभयो । साथै उनीहरुले प्रयोग गरेको से ४ प ६७६० नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका जोशीलाई इलाका प्रहरी कार्यालय टीकापुरको जिम्मा लगाइएको छ । उक्त रकम त्यहाँबाट प्रकिया पूरा गरी राजश्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ ।

प्रहरीले सो रकम भारतबाट चोरेर ल्याएको हुन सक्ने अनुमान गरेको छ । यद्यपि, प्रहरीले यसबारे थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति: ८ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्