प्रधानमन्त्री ओली आज अमेरिका जाँदै


 


काठमाडौँ, असोज ६

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज न्यु योर्कतर्फ प्रस्थान गर्नु हुँदैछ । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य पनि रहनुहुनेछ ।

असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको छ । प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्नुहुनेछ ।

उहाँले सोही दिन यस विश्व संस्थाका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखरबैठक’ को रूपमा उच्चस्तरीय पूर्ण बैठकलाई सम्वोधन गर्नुहुनेछ । सो बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको सम्मानमा उहाँको शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुनेछ ।

धानमन्त्री ओली तथा श्रीमती शाक्य सोही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री असोज १७ गते बुधबार काठमाडौँका लागि प्रस्थान गर्नुहुनेछ ।

प्रकाशित मिति: ६ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्