सिरहामा मल आभाव
लहान,भदौँ २८
सिरहामा रसायनिक मलको आभाव भएको छ । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयले आवश्यक मात्रामा मल उपलब्ध नगराउँदा मलको आभाव भएको हो ।
कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईका अनुसार धान रोपाइँ सकिएपछि मलखादको माग बढेको छ । लामो समयदेखि मलखाद आपूर्ति नहुँदा रसायनिक मलको आभाव भएको छ । “पन्ध्र हजार बोरा मल आवश्यक छ, कृषि सामग्री संस्थानको गोदाम रित्तो छ,” उहाँले भन्नुभयो ।
बजारमा व्यापारीले रसायनिक मल बढी मूल्यमा बिक्री वितरण गर्दै आएका छन् । विगतमा स्थानीय तहमा रहेका विभिन्न सहकारी संस्थामार्फत कृषि सामग्री संस्थानले गाउँगाउँमा किसानलाई मलखाद बिक्री वितरण गर्दै आएको थियो । कम्पनीले डिएपी प्रतिबोरा रु दुई हजार १८८ तथा रसायनिक मल रु ७३८ का दरले सहकारीलाई बिक्री गरेको थियो । व्यापारीले अहिले झण्डै दोब्बर मूल्यमा रसायनिक मल बिक्री गर्दै आएका छन् । रासस
प्रकाशित मिति: २८ भाद्र २०७५, बिहिबार