कसैले बुझेनन् स्थानीयको पीडा, खोलाले ज्यान जोखिममा


 


अंकुश कुँवर
कैलाली, भदौ २६
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ र २ जोड्ने चौमाला खोलामा पुल नहुँदा स्थानीयहरु बषौंदेखि सास्ती भोग्न बाध्य भएका छन् । खोला तरेर नै स्थानीय वारपार गर्दै आएका छन् ।

स्थानीयको पहलमा खोलामा बनाइएको काठे पुल पनि भत्किएको छ । खोला पुल नहुँदा विद्यार्थीहरु बढी समस्यामा परेका छन् ।

वडा नम्बर १ मा नगरपालिका कार्यालय र बजार क्षेत्र पर्छ भने वडा नम्बर २ मा विद्यालय र स्वास्थ्यचौकी पर्छ । बाढी आएको बेला वडा नम्बर २ का बासिन्दाहरुलाई दैनिक उपभोग्य बस्तुलगायत किनमेल र कार्यालयको काम गर्न समस्या भइरहेको छ ।

त्यसैगरि, वडा नम्बर १ का बासिन्दा खोलामा बाढी आएपछि स्वास्थ्योपचारमा समस्या हुने गरेको छ भने अर्कोतर्फ विद्यार्थीहरु विद्यालयमा जान पाउँदैनन् । वडा नम्बर १ बाट धेरै विद्यार्थी वडा नम्बर २ मा रहेको मालिका माध्यामिक विद्यालयमा अध्ययन गर्न आउँछन् ।

पुलका लागि चौमालाबासीले नेताहरुदेखि नगरपालिकासंग माग गरेपनि अहिलेसम्म सुनुवाई हुन सकेको छैन । चुनावका बेला नेताहरुले खोलामा पुल बनाउनका लागि दिएको आश्वासन पनि पूरा नगरेको स्थानीयबासीको गुनासो छ ।

नदी पुल नहुँदा बर्खायाममा विद्यार्थीहरुको विद्यालय नै छुट्ने गरेको वडा नम्बर १ की रुपा जोशीले बताइन् । खोला तर्न हिउँदमा खासै अप्ठेरो नहुने गरेको भएपनि वर्खायाममा भने निकै चुनौति हुने गरेको उनको भनाई छ । ‘खोलामा पुल नहुँदा स्थानीयले निकै दुःख भोग्नुपरेको छ’ उनले भनिन्, ‘दुईवटै वडाका बासिन्दालाई सास्ती छ ।’

कतिपय अवस्थामा खोलामा बाढी आएको बेलामा पनि स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । यस्तो जोखिम मोलेर यात्रा गर्नेमा विद्यार्थीहरु पनि हुने गरेका छन् । विद्यालयमा आवत जावत गर्ने बेला छ/सात वर्षको अवधिमा तीन जना बालबालिकाको खोलामा बगेर मृत्यु भइसकेको वडा नम्बर २ कि मनसरा ढुंगानाले बताइन् ।

उनले घाँस दाउराका लागि वारीपारि गर्ने मानिसहरु पनि बाढी आएको बेला जहाँको त्यहीँ रहने गरेको बताइन् । ‘पुल निर्माण गर्छु भन्नेहरु धेरै आए आश्वासन दिए गए’, उनले भनिन्, ‘तर यसै नदी तर्ने वेलाम लाई थाह भएसम्म ३ जना बालकको डुवेर मृत्यु भइसक्यो ।’

हिउँदमा नदी सानो भए पनि बर्खामा पानी धेरै हुने भएकाले वारपार गर्दा समस्या हुने गरेको मालिका माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा पुष्पा साउँदले बताए । ‘पानी पर्यो भनेर विद्यालय नआउँ भने भएन,’ उनले भने, ‘तर, कहिलेकाँही खोलामा बाढी बढेको खण्डमा घर फिर्ता हुनुपर्ने हुन्छ । नभए पाँच मिनेको बाटो आधा पौने घण्टा हिडेर अर्को बाटोबाट जानुपर्छ ।’

अत्यावश्यक कामका लागि वारिका बासिन्दाले पारि र पारीका बासिन्दाले खोला तर्नुपर्ने अवस्था भएकाले आफूहरु वषौंदेखि निकै समस्या भोग्दै आइरहेको वडा नम्बर १ कि विश्ना जोशी बताउँछिन् । उनले यसका लागि अब सबैसंग पहल गरिदिन आग्रह गर्दा पनि कसैले ध्यान नदिएको गुनासो गरिन् ।

स्थानीयहरुले सरकारलाई पटक पटक पुलको माग राख्दै आएका छन् । नदी पुल नहुँदा बालबालिका र वृद्धवद्धाहरु बढी समस्यामा पर्ने गरेका छन् । वडा नम्बर २ मा पर्ने मालिका माध्यामिक विद्यालय र मालिका प्राथमिक स्वास्थ्यचौकीको धेरै भाग नदीले घेरिएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्