बलात्कारविरुद्ध कालो तीज ! जाग्दै महिला अधिकारकर्मी


 


धनगढी, भदौ २६
प्रत्येक वर्ष हरितालिका तीजको अघिल्लो दिन शुक्ल द्वितीयाका दिन दर खाएर रमाइलो गर्ने कैलालीका महिला अधिकारकर्मीहरुले यस वर्ष भने बलात्कार विरुद्ध कालो तीज मनाएका छन् ।

यस वर्ष बलात्कार र हत्या हिंसाका घटना बढ्दै गएको र निर्मला पन्तको हत्यारा पत्ता नलगाएको भन्दै महिलाहरुले यस वर्षको तीजलाई कालो तीजका रुपमा मनाएका हुन् ।

तीजकै अवसरमा धनगढीबाट प्रकाशित हुने मर्निङबेल दैनिकको आयोजनामा मंगलबार धनगढीमा ‘महिला अस्मिताको सवाल’ विषयक अन्तरक्रियात्मक कार्यक्रमसहित कालो तीज मनाइएको हो । महिला अधिकारकर्मीहरुले हत्या, हिंसा र बलात्कारका घटना न्युनिकरणमा बल पुगोस् भनेर यस वर्षको तीजलाई कालो तीजका रुपमा मनाइएको बताए ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी धनगढी उपमहानगरपालिकाका उपमेयर सुशीला मिश्र भट्टले महिलाहरुले पछिल्लो समय महिलामाथि भएका जघन्य अपराधिक घटनाक्रमका कारण वर्षको एक दिन मनाउने तीजलाई पनि कालो तीजका रुपमा मनाउनुपर्ने स्थिति आएको बताइन् ।

उनले यसरी तीजलाई कालो तीजका रुपमा मनाउँदा यस्ता अपराधिक क्रियाकलाप नियन्त्रणका लागि दवाव पुग्ने धारणा राखिन् । उनले महिलाहरुलाई महिलामाथि भइरहेको अपराधिक क्रियाकलाप रोक्नका लागि सक्रिय रुपमा लाग्न आग्रसमेत गरिन् ।

महिला अधिकारकर्मी शान्ति अधिकारीले प्रदेश नम्बर ७ मा महिलाहरुमाथि बढ्दै गएको जघन्य अपराधले महिलाहरुलाई गम्भीर बनाएर सोच्न बाध्य बताएको बताइन् ।

उनले बलात्कारपछि हत्या जस्ता जघन्य अपराधका घटनाले समाज नै असुरक्षित महसुश भएको बताइन् । उनले अब पनि महिलाहरु जागरुक भएर नलाग्ने हो भने अवस्था अझै नाजुक हुने धारणा राखिन् ।

महिला अधिकारकर्मी निर्मला बाग्चन्दले एक सञ्चारमाध्यमले महिलाहरुलाई आफ्नो बाच्न पाउने अधिकारका लागि लड्नका लागि जागरुक बनाउन थालेको अभियान सरकात्मक भएको धारणा राखिन् । उनले महिलामाथि भइरहेको हिंसाले यस वर्षको तीजलाई कालो तीजका रुपमा मनाउन बाध्यता आइसकेको बताइन् ।

कार्यक्रममा सहभागि महिलाहरुले बलात्कार र बलात्कारपछि हत्या गर्ने गरि भएका अपराधमा संलग्न दोषीलाई पक्राउ गरि कारबाही गर्न मागसमेत गरेका छन् ।

महिला अधिकारकर्मी तथा मर्निङबेल दैनिकका प्रकाशक रमा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा यस क्षेत्रका महिला अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय हँुदा समेत सरकारले अपराधि पता लगाउन सकेको छैन । कार्यक्रमको सञ्चालन मर्निङ दैनिकका प्रबन्ध निर्देशक सर्मिला बाग्चन्दले गरेकी थिइन् । महिलाहरुको महान पर्व हरितालिका तीज बुधबारदेखि सुरु हुँदैछ ।

बलात्कार, हत्या, हिंसालगायतका अपराधिक क्रियाकलापका कारण यस वर्ष प्रदेश नम्बर ७ मा तीजको रौनक खासै देखिएको छैन ।

प्रकाशित मिति: २६ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्