मोरङमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु


 


मोरङ, भदौँ २६

मोरङ जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका – ७ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा १९ च ६१२२ नम्बरको कार आफैँ अनियन्त्रित भई राजमार्ग किनारमा पल्टिँदा कारमा सवार सुनसरी, धरान उपमहानगरपालिका – १ बस्ने ५५ वर्षिया ललिता अग्रवालको मृत्यु भएको छ ।

घाईते अग्रवालको पथरीशनिश्चरे नगरपालिकास्थित पथरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा कारमा सवार धरान –१ बस्ने ८१ वर्षिय दिखनाथ अग्रवाल, चितवन जिल्ला भरतपुर महानगरपालिका – १ बस्ने ३० वर्षिया गिता अग्रवाल, कार चालक सोही ठाउँका ३२ वर्षिय अनिश अग्रवाल र ९ वर्षिय बालक बरुण अग्रवाल घाईते भएका छन् ।

घाईते सबैको न्युरो अस्पताल विराटनगरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । यस्तै मोरङकै विराटनगर महानगरपालिका – ९ स्थित कोशी राजमार्गमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

बिहान ११ बजे विराटनगरको महेन्द्र चोकबाट भारतको जोगबनीतर्फ जाँदै गरेको एचआर ५५ एल ४१९ नम्बरको भारतीय नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको को ५ प ३२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार मोरङ, रंगेली नगरपालिका – ७ बस्ने ३० वर्षिया आशुँ अग्रवालको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक मृतकका श्रीमान् ३८ वर्षिय मनोज अग्रवाल र उनकी छोरी ७ वर्षिया अनिशा अग्रवाल घाईते भएकाले उनीहरुको सप्तकोशी अस्पताल विराटनगरमा उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक र त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्