सुनसरीका बाढीपिडितले अझैँ राहत पाएनन्


 


इनरुवा, भदौ २६

गत वर्ष साउनको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित बनेका सुनसरी दुहबी नगरपालिका–१० का बासिन्दाले अझै राहत पाउन सकेका छैनन् ।

बाढीबाट प्रभावित बनेका त्यस वडाका १०७ परिवार अहिले पनि राहत रकमको प्रतीक्षामा छन् । सरकारले प्रतिघर रु २५ हजारका दरले राहत दिने घोषणा गरेको थियो । बाढीपीडितका लागि आएको रकम वास्तविक बाढीपीडितलाई नदिई वडाका प्रतिनिधिले गैरबाढीपीडितलाई वितरण गरेको, पार्टीगत, नातावाद, कृपावाद हिसाबले रकम वितरण गरेको बाढी पीडित कैलु उराँवले बताउनुभयो ।

बाढीपीडितको नाममा आएको रकममा भएको अनियमित भएको विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको स्थानीयवासी बिन्दा मोचीले जानकारी दिनुभयो । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले बाढीपीडितको रकममा भएको अनियमितताका विषयमा छानबिन गरिने बताउनुभयो । रासस

प्रकाशित मिति: २६ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्