झापा दमकका व्यापारी पौडेलको अपहरणपछि हत्या


 


दमक, भदौ २६

झापाको कमल गाउँपालिका – ६ मंगलबारेका ३३ बर्षिय कपडा व्यापारी खेमराज पौडेल गौरीगञ्जमा हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको छ ।

गौरीगञ्ज – ६ बाहसुद्दीस्थित विनोद यादवको धानखेत नजिक नालामा फ्याकिएको अवस्थामा आज विहान शव फेला परेको ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेल जानकारी दिनुभयो ।

घटनास्थलमा मे ७ प १९०४ नम्बरको मोटरसाईकल, मोवाइल, व्याग समेत फेला परेको छ । सोमबार बेलुका मृत पौडेल र उहाँकी श्रीमतीसंगै गौरीगञ्ज बजार आएका बेला साँझ करिब ६ बजे तिर श्रीमतीलाई एक नास्ता पसलमा एकछिन बस्नु भनी हिडेका पौडेल राती ९ बजे मात्र अपहरणमा परेको प्रहरीलाई खबर आएको निरीक्षक पौडेलले जानकारी दिनुभयो ।

प्रहरीले राती अबेरसम्म पौडेलको खोजी कार्य जारी राखेका थिए । मृतक पौडेलको घाटी र टाउकोमा छुरा प्रहार भएको जनाईएको छ । पौडेल दमकमा कपडाको ब्यवासाय गर्दै आएको जनाईएको छ । यसैवीच,घटनाको आशंकमा प्रहरीले एक जना युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्