चीन नयाँ नाका खोल्न इच्छुक


 


मुस्ताङ, असोज १७

नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न तिब्बती अधिकारी इच्छुक देखिएका छन् । मुस्ताङको सीमा प्रशासन कार्यालय र ढोङबासेन जिल्लाका अधिकारीहरुबीच मुस्ताङको लोमान्थाङमा भएको वार्ताका क्रममा छिटो नाका खोल्नका लागि इच्छुक देखिएका हुन् ।

वार्ताका क्रममा नाका सञ्चालन गराउन चीन सरकारले नै निर्णय गर्नुपर्ने र त्यसका लागि आफूहरुले पहल गर्ने तिब्बती अधिकारीहरुले आश्वासन दिएको सीमा प्रशासन कार्यालय मुस्ताङका प्रमुख कृष्णराज ढकालले बताए । तत्काल नाका सञ्चालनका लागि तिब्बती अधिकारी इच्छुक देखिएका छन् ।

त्यसका लागि बेइजिङबाट नै निर्णय गर्नुपर्ने भएकाले दुईपक्षीय सरकारले गर्नुपर्छ भन्ने राय आयो केन्द्रले चीन सरकारसँग सहमति गर्नु पर्न बताएको ढकालले बताए । कोरल्ला नाकाबाट पोखरा २०० किमी टाढा छ भने भारतसँगको सुनौली नाकासम्म मुस्ताङ–म्याग्दी–पर्वत–स्याङ्जा–पाल्पा हुँदै जम्मा ३४४ किमी पर्छ ।

उपल्लो मुस्ताङमा सञ्चालन भइरहेका मोटरसाइकलले अहिले पनि तिब्बतबाटै पेट्रोल लिँदै आएका छन् । पेट्रोलियम पदार्थ ल्याउनका लागि केही लामो दूरी पार गर्नुपर्छ तर अन्य सामग्री तत्काल ल्याउन सकिने देखिएको ढकालले बताए ।

अहिले मुस्ताङका लागि मात्रै भए पनि पेट्रोलियम पदार्थ ढुवानी गर्ने प्रयास थालिएको हो । कोरल्ला नाका तत्काल सञ्चालन गर्न सकिने व्यापारिक र धार्मिक दृष्टिकोणले नाका सञ्चालन गर्न आवश्यक देखेर तिब्बती पक्षको धारणा बुझ्न मुस्ताङका सीमा प्रशासकलाई खटाइएको थियो ।

नाकामा तिब्बतले तारबार र ढोकासमेत लगाएका कारण प्रारम्भिक चरणमा ढोका खोलेर आवागमन सहज बनाउनका लागि प्रयास भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बताए ।

प्रकाशित मिति: १७ आश्विन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्