मोरङमा दुई छोरालाई झुण्ड्याएर आमाद्धारा आत्महत्या


 


विराटनगर, भदौ २५

मोरङको बुढीगंगा गाउँपालिका २ अमाही भन्ने ठाउँकी एक महिलाले दुई छोरालाई डोरीको पासो लगाएर झुन्ड्याएपछि आज विहान आफूले पनि आत्महत्या गरेको खुलेको छ । छोराहरु १० वर्षीय निशान यादव र ५ वर्षीय अमन यादवलाई घरकै बलोमा डोरीको पासो लगाउँदै झुन्ड्याएपछि २९ वर्षीय कविता यादवले पनि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रमुख एसपी मनोजकुमार केसीका अनुसार दुबै छोरालाई डोरीको पासो लगाएर झुन्ड्याएपछि आमा आफूले पनि एक तले घरको बलोमा डोरीको पासो लगाएर झुन्डिएर आत्महत्या गरेको खुलेको हो । प्रहरी घटनास्थलमा पुग्दा विहान साढे १० बजे कान्छो छोरा अमन र आमाको शव घरको बलोमा झुन्डिएको अवस्थामा फेला परेको केसीको भनाइ छ ।

जेठो छोरा निशानलाई झुन्ड्याएको डोरी भने छिनेका कारण उनी भने बाँच्न सफल भएको प्रहीले जनाएको छ । ‘घटनास्थलको प्रकृति हेर्दा आमाले आफू झुन्डिएर आत्महत्या गर्नु अघि दुबै छोरालाई झुन्ड्याएर हत्या गर्न खोजेको देखिएको,’ एसपी केसीले भन्नु भयो । झुन्ड्याएको डोरी छिनेका कारण बाँचेका जेठो छोरालाई भने घाइते अवस्थामा प्रहरीले उपचारका लागि विराट नर्सिङ होममा लगेको छ । आमाले झुन्ड्याएका मध्ये कान्छो छोराको मृत्यु भए पनि डोरी छिनेका कारण जेठो छोरालाई भने घाइते अवस्थामा भए पनि जीवितै भेटिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार विहान १० बज्दा पनि दुबै जना स्कुल नपुगेपछि स्थानीय बासिन्दाले गएर हेर्दा घरमा भित्रबाट आग्लो लगाएको देखेर होहल्ला गरेका थिए । भित्रबाट ढोका बन्द गरिएको घरमा बच्चा रुन थालेको सुनेपछि प्रहरीलाई खवर गरिएको वडा सदस्य गाडीलाल सिक्दारले बताउनु भयो । उहाँका अनुुसार प्रहरी पुगेर घरको ढोका खोलेपछि कान्छो छोरा र आमाको शव झुन्डिएको अवस्थामा फेला परेको थियो भने जेठो छोरा रोइरहेका थिए । स्थानीय बासिन्दाका अनुसार कविताका पति अमरलाल यादवको दुई वर्ष अघि नै निधन भइसकेको थियो । सोही घरमै बस्दै आएकी कवितासंग केही समयदेखि भारतको फारवेशगन्ज घर र विराटनगरमा काम गर्दै आएको बताउने रामदेव झा बस्दै आएका थिए । कविताका दुबै छोरा भने पहिलाका पति अमरलालतर्फका हुन् ।

विहान घटना भएपछि कविताले कान्छो पति भनेर चिनाएका रामदेवलाई भने घटनास्थलमा नभेटिएको सिक्दारको भनाइ छ । एसपी केसीले रामदेव भनिने व्यक्ति सम्पर्कमा नरहेको र उनको खोजी भइरहेको जानकारी दिनु भयो । उनलाई नियन्त्रणमा लिएपछि घटनाका बारेमा थप कुरा बाहिर आउने र घटनाका बारेमा पनि केही सुराक मिल्ने अपेक्षा प्रहरीले गरेको छ । उपचारका लागि नर्सिङ होम पुर्याएका १० वर्षीय बालक निशानले भने आमाले सुरुमा भाई र आफूलाई डोरीले घाँटीमा बाँधेर झुन्ड्याएपछि आफूले पनि डोरी लगाएर झुन्डिएको प्रहरीलाई बताएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाका अनुसार बालकले आफूलाई झुन्ड्याउन साथ आमा पनि डोरी लगाएर झुन्डिएको बताएका छन् ।

उनका अनुसार आमा डोरी लगाएर झुन्डिएको केही बेरमै आफूलाई झुन्ड्याएको डोरी भनेर चुँडिएर आफू भूइँमा खसेको ती बालकले बताएका छन् । बाहिरबाट हेर्दा घाँटीमा डोरीको पासो लागेको बाहेक महिलाको शरीरमा भने कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ । आमा र नावालक छोराको शव पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । शवको पोष्मार्टमपछि पनि घटनाका बारेमा धेरै कुरा खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्