सेमिफाईनलमा नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्ने


 


काठमाण्डौँ, भदौँ २५

बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाईनलमा नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा भारतले मालदिभ्सलाई २–० ले हराएसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो ।

बंगबन्धु रंगशालामा भएको खेलमा भारतले ३६औं मिनेटमा अग्रता लिएको थियो । निखिल पुजारीले भारतका लागि पहिलो गोल गरेका थिए । ४४औं मिनेटमा भारतका मनवीर सिंहले दोस्रो गोल गरेका थिए । भारत ६ अंकसहित समूह बीको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले सेमिफाइनलमा समूह ए को उपविजेता पाकिस्तानसँग खेल्नेछ ।

श्रीलंका र माल्दिभ्स दुवै टिमले भारतसँग समान दुई गोलको अन्तरमा हारेका कारण दुवै समान स्थितिमा थिए । समूह उपविजेताको निर्धारण टसबाट भएको थियो । टस जित्दै सेमीफाइनलमा मालदिभ्सले स्थान बनायो । नेपालले बुधबार सेमिफाइनलमा मालदिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: २५ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्