गाउँमा अनौठो सर्प, गाँउले त्रसित


 


पर्वत, भदौ २४
पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १० मा अनौठो सर्प देखा परेपछि स्थानीय त्रसित बनेका छन् । गाउँको पिपलटारीस्थित सिमखेतमा अनौठो खालको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा देखिएको हो ।

साना र सामान्य खालका सर्पमात्र देखिने गरेको पर्वतमा ठूलो प्रजातिको सर्प गाउँमा पसेर पशुचौपायालाई समेत आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका हुन् । सर्पले दुईवटा भैँसी र एक गोरुलाई समेत घाइते बनाएको थियो ।

सर्पको लम्बाई झण्डै साढे चार मिटर रहेको छ । ठूलो सर्पले अर्को सर्पलाई झण्डै चार घण्टा लगाएर खाएको थियो । त्यसलगत्तै झाडीमा पसेको सर्प फेरि देखिएको छैन ।

गाउँमा अहिलेसम्म यत्रो ठूलो सर्प नदेखिएको र त्यसले अर्को सर्पलाई पनि खाएका कारण स्थानीय उक्त सर्पले बालबालिका र चौपायालाई पनि आक्रमण गर्छ की भन्ने डरले पिरोलिएका छन् ।

उनीहरुले उक्त सर्पको खोजी गरी नियन्त्रण गरिदिन जिल्ला वन कार्यालयलगायत प्रहरी प्रशासनसँग माग गरेका छन् ।

विषालु सर्प गाउँमा भित्रिएपछि जुनसुकै बेला पनि मानिस र पशु चौपायालाई आक्रमण गर्नसक्ने खतरा बढेको भन्दै नियन्त्रणका लागि माग गरिएको स्थानीय रामचन्द्र सुवेदीले बताउनुभयो । स्थानीयले अजिङ्गर हो कि भन्ने अनुमानसमेत गरेका छन् ।

प्रकाशित मिति: २४ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्