एक कल फोन गर्न डाँडामाथि…


 


जाजरकोट, भदौ २४
जाजरकोटको पश्चिमी र उत्तरी पूर्व क्षेत्रमा मानिसलाई फोन गर्नै समस्या भइरहेको छ । एक कल फोन गर्नको लागि घण्टा हिँडेर अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको छ ।

जिल्लाको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकाकामा स्थानीयलाई फोन गर्न अग्लो डाँडाको साहारा लिनुपर्ने स्थिति छ ।

अहिले भएका नेपाल टेलिकमका टावरले घाम लागेपछि मात्र काम गर्ने हुँदा अग्लो डाँडामा पुग्नु पर्ने बाध्यता रहेको स्थानीय रेशमबहादुर खड्काले बताउनुभयो । केन्द्रीय कार्यालयबाट स्तरोन्नतिका लागि प्राविधिक पठाएर हेरे पनि अहिलेसम्म काम हुन नसकेको जैसीले बताउनुभयो ।

भेरी नगरपालिका–६ मछाइनामा रहेको नेपाल टेलिकमको नमस्ते, स्काइको टावर र जुनिचाँदे गाउँपालिका–२ मजकोटमा रहेको स्काइको टावर कुशे गाउँपालिकाको लाताचुलीको टावरलाई स्तरोन्नति गर्ने भनिए पनि काम नहुँदा यहाँका हजारौँ स्थानीयले फोन सेवाबाट वञ्चित भएको जैसीले बताउनुभयो ।

चुनावका समयमा जिल्लाका सबै ठाउँमा टेलिफोन टावर निर्माण गरी जनतालाई सहजरुपमा सञ्चार सेवा पु¥याउने भनी दिइएको नारा एक वर्ष बिते पनि नारामै सीमित भएको स्थानीय पूर्णसमिर महतराले बताउनुभयो ।

फोनले काम नगर्दा यहाँका स्थानीय सरकारको कामसमेत प्रभावित भएका छन् । फोन, इन्टरनेट, बैंक नहुँदा जिल्लाको जुनिचाँदे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र बारेकोट गाउँपालिकाको कार्यालय सदरमुकामबाट सञ्चालन हुँदै आएको छ ।

आकाशमा बादल देखिनासाथ डाँडामा गएर फोन गर्दा गर्दै टावर जाँदा हैरान हुने गरेको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो । रासस

प्रकाशित मिति: २४ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्