राहत रकमले दोषी उन्मुक्ति हुने पीडित परिवारको आशंका


 


अंकुश कुँवर
धनगढी, भदौ २२
बलात्कारपछि हत्या भएका घटनाका पीडितका परिवारले दोषीलाई कारबाही गर्नुपर्ने माग गरिरहेका बेला सरकारले गरेका राहत घोषणाले उनीहरुमा अर्को आशंका उत्पन्न भएको छ ।

संघ, प्रदेश र स्थानीय तहका सरककारले गरेका राहत घोषणाले दोषीलाई उन्मुक्ति दिइने हो कि भन्ने चिन्ता थपिएको छ । कैलालीको गैरीगंगा नगरपालिका वडा नं. ११ कि २१ वर्षीया माया विकका ठूला बुवा खडक विकले नगरपालिकाले घटनापछि परिवारलाई एक लाख रुपैयाँ दिने घाोषणा गरेको भएपनि नलिएको बताउनुभयो ।

उहाँले पीडितलाई राहतको प्रलोभन देखाएर दोषी निम्त्याउने खेल हुँदैछ कि भन्ने आशंकाले अहिलेसम्म राहत नलिएको बताउनुभयो । ‘नगरपालिकाले रकम उपलब्ध गराउने घोषणा गरेको छ’ उहाँले भन्नुभयो, ‘राहत देखाएर दोषीलाई उन्मुक्ति दिइने हो कि भन्ने शंका लाग्छ ।’ उहाँले अदालतले दोषीलाई सके फाँसी नभए आजीवन काराबासको फैसला नगरेसम्म राहत नलिइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘दोषीको स्वास भित्र, लास बाहिर हुनुपपर्छ ।’

माया विकको असार १२ गते सामूहिक बलात्कारपछि हत्या भएको थियो । मायाको हत्यामा संलग्न रहेका पाँच जनालाई प्रहरीले घटना भएको केही दिनपछि पक्राउ गरेको थियो ।

जसमा घटनाका मुख्य योजनाकार गौरीगंगा वडा नम्बर ११ शिवपुरका ३० वर्षीय गणेश बडुवाल, २७ वर्षीय मनोज बोगटी, २० वर्षीय भूवन खाती, १९ वर्षका तपेन्द्र बोगटी र २१ वर्षका सुरज चौधरी छन् । उनीहरु अहिले पूर्पक्षका लागि कारागारमा छन् ।

माया विकका आमा बुवाले पनि सरकारले राहत दिने भन्दा पनि दोषीलाई कडा कारबाहीको व्यवस्था गरिएको हेर्न मन भएको बताउनुभएको छ । मायाका बुवा हर्क विकले पनि दोषीलाई आजीवन काराबास हुनुपर्ने बताउनुभयो ।

माया विकको परिवारलाई प्रदेश ७ सरकारले पनि घटना घटेको दुई महिनापछि यही भदौ ११ गते पाँच खाल रुपैयाँ दिने घोषणा गरेको छ ।

मन्त्रिपरिषद बैठकले गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी भिमदत्त नगरपालिका वडा नं. २ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्त र बलात्कारीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने भन्दै चर्केको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका भिमदत्त नगरपालिका वडा नं. १८ का १४ वर्षीय सन्नी खुनाको परिवारलाई पनि पाँच÷पाँच लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

तर, सरकारले कञ्चनपुरमा घटेको घटनापछि निस्किएको आन्दोलनले मात्रै प्रदेश सरकारले राहत दिने घोषणा गरिनुले माया विकका परिवारलाई खासै मन परेको छैन ।

माया विकका ठूला बुवा खडक विकले कञ्चनपुरको घटनापछि राहात घोषणा गर्दा मायाको पक्षमा पनि राहतका लागि दवाव परेपछि प्रदेश सरकारले राहत घोषणा गरेको बताउनुभयो । ‘आन्दोलन गरेमा मात्रै सरकारको ध्यान पुग्दो रहेछ,’ उहाँले भन्नुभयो, ‘हामीले राहत लिए नलिएपनि केन्द्र सरकारले राहतको केही कुरा गरेको छैन ।’

संघीय सरकारले कञ्चनपुरकी निर्मला पन्तका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरेपनि सोही प्रकृतिको घटना माया विकका परिवारलाई भने अहिलेसम्म क्षर्तिपूर्ति दिने कुनै घोषणा गरेको छैन ।

केही दिनअघि दलित अधिकारकर्मीलगायतले पनि पीडितलाई कुनै विभेद नगरी संघीय सरकारले राहत उपलब्ध गराउनुपर्ने भन्दै कैलालीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

माया विकका परिवारले मात्रै नभई निर्मला पन्तका परिवारले पनि राहत भन्दा दोषीलाई पत्ता लगाएर कारबाही गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

निर्मलाका बुबा यज्ञराज पन्तले राहत भन्दा पनि वास्तविक दोषीलाई पत्ता लगाएर कारबाही गर्नुपर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने माग गर्नुभयो । उहाँले पनि आफ्नी छोरीको हत्याराई आजीवन काराबास वा फाँसीको सजाय दिनुपर्ने बताउनुभयो ।

घटनाका दोषीलाई प्रहरीले अहिलेसम्म पनि पक्राउ गर्न सकेको छैन । यो घटनामा दोषीलाई लुकाउन खोजिएको आरोप पनि लाग्दै आएको छ ।

प्रकाशित मिति: २२ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्