कविता-तिमी मेरो प्रेमी हुन सक्दैनौ


 


 

dharma tiwari
धर्मप्रसाद तिवारी

शरीरका अङ्गहरुको आकार दाँजेर

भुगोल टुक्रयाउने सपना देख्छौ तिमी,

तिम्रो र मेरो भूगोल यसैमा फरक छ

म नाङ्गा र भोका मान्छेभित्र भूगोल भेट्छु,

तिमी दूरबिनभित्र भूगोल खोज्छौ

तिमी भूगोल टुक्रिन्छ भन्छौ,

मेरो भूगोल जति टुक्रयाएनि बढिरहन्छ

अभावमा, भोकमा र शोकमा ।

 

तिमीले खोजेको भूगोलभित्र

मेरो तरुनी शरीरको गीत लेख्छौ

तिमी भोकाइरहेका हुन्छौ जतिखेरै

आमाको छातिमा धरती देख्दैनौ

आवरणमा  अत्तर छर्केको तिम्रो शरीर

धमिराले खाएको काठजस्तो,

मलाई विषादिको गन्ध आउँछ तिमीबाट

हे महापुरुष ! तिमी मेरो प्रेमी हुन सक्दैनौ ।

 

म पढ्छु वेद कुरान र त्रिपिटक

जहाँ मन्दिर मस्जिद र गुम्बाहरु एकै ठाऊँ मुस्कुराउँछन्

मलाई भ्याइ नभ्याइ हुन्छ

गुराँस फुल्ने पाखाहरु डुल्न,

तिमी सिटामोल माग्छौ म चिराइतो दिन्छु

तिमी दशगजा र सीमानामा देश खोज्छौ,

म तीन करोड मुटुभित्र चारकुने आयात भेट्छु

म भेट्छु एकै ठाऊँ चण्डी, देउडा र माल्सिरी धुन

हे महापुरुष ! तिमी मेरो प्रेमी हुन सक्दैनौ ।

 

म लुम्बिनीको सन्देश बोकेर पुग्छु माथि हिमालमा

तिमी रगतले पूजा गर्छौ ढुङ्गालाई

तिम्रो पुरुषत्व पोखिन्छ बलिरहेको आगोमाथि

खनिन्छ मेरो जवानी भोका थाल र रित्ता कचौरामा

म रोप्छु श्रमको विरुवा

फुलाउँछु प्रेमको फल

फलाउँछु प्राणको आशा

मेरो लागि त्योभन्दा ठूलो धाम अन्त छैन

प्राण रक्षक उमार्नु जस्तो काम अन्त छैन

हे महापुरुष ! तिमी मेरो प्रेमी हुन सक्दैनौ ।

 

असक्त र बेसहाराको पीडाभित्र

कुण्ठित र दबाइएका स्वरहरुभित्र

मेरो विद्यालयको पढाइ शुरु हुन्छ,

सही गलत छुट्याउनु नै

विश्वविद्यालयको उपाधि हुन्छ

मेरो पुस्तकालयमा तीन करोड पुस्तकहरु छन्

मेरा पुस्तक भित्र सगरमाथाको उचाइ जस्तो विचार हुन्छ

साल्पाको पानी जस्तो स्वच्छता हुन्छ

जिउँदा लासहरुसँग तिमी मित्रता गाँस्छौ

र ठान्छौ आफूलाई लोकप्रिय,

मलाई कहिल्यै मसानघाट प्रिय लाग्दैन

हे महापुरुष ! तिमी मेरो प्रेमी हुन सक्दैनौ ।

प्रकाशित मिति: १६ आश्विन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्