मोरङमा एक निर्दयी आमाले आफ्नै छोराको हत्या गरिन्


 


विराटनगर, भदौँ १९

मोरङको कानेपोखरी गाउँपालिका – ५ की २३ वर्षीय कल्पना दर्जीले आफ्नै ६ वर्षिय छोरा रेशमको खोलामा धकेलेर हत्या गरेकी छन् । कल्पना आइतबार बिहान माइत जान भन्दै ६ वर्षीय छोरा रेशमलाई लिएर निस्किन्।

रमाइलोस्थित उनको माइती घर पुग्न त्यहाँको चिसाङ खोला तर्नै पर्छ। अलिकति हिँड्दा खोला तर्नलाई पुल भेटिन्छ। तर मन भित्र पाप चिताएकी उनले नाबालक छोरालाई पुलको बाटो प्रयोग नगरिकन खोलाबाटै लिएर गइन्।

खोला तरिसकेपछि उनले छोरा रेशमलाई बाढी आउँदै गरेको सानो चिसाङ खोलामै धकेलिदिइन्। बालकलाई खोलाले बगायो। त्यसपछि माइत पुगेर छोरालाई तर्ने क्रममा खोलाले बगाएको सुनाइन्। नाबालकको खोजीमा निस्किएका माइती पक्षले शंका गरेर केरकार गरे। अन्तत कल्पना आफैँले छोरालाई खोलामा धकेलेको स्वीकार गरिन्।

खोलाले बगाएर मृत्यु भएका बालकको शव घटनास्थलबाट एक सय मिटर तल अल्झिएको अवस्थामा इलाका प्रहरी कार्यालय पथरीको टोलीले भेट्टायो। प्रहरी टोली प्रहरी निरीक्षक कमल बजगाईको नेतृत्वमा घटनास्थलमा पुगेको थियो।

पति श्याम दर्जीले किटानी जाहेरी दिएपछि प्रहरीले कल्पनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ। कल्पनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन आज जिल्ला अदालत मोरङबाट म्याद थप भएको छ।

अदालतबाट म्याद थप भएसँगै कल्पनामाथि अनुसन्धान अगाडि बढाएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनुभयो। प्रहरी समक्ष पनि उनले घटना स्वीकार गरेकी छन्। कल्पना निगुरो बिक्री गरेर जीवन चलाउँदै आएकी थिइन्। प्रहरीसँगको वयानमा उनले पतिसँगको रिसको आवेगमा आफूले छोरालाई खोलामा धकेलेर हत्या गरेको स्वीकार गरेकी छन्।

प्रकाशित मिति: १९ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्