किन रहस्यमय बन्यो राजदुत हत्या र सांसद पालको धम्की घटना ?


 


काठमाडौं, भदौ १९
पूर्वराजदूत केशवराज झाको घरभित्रै बीभत्स हत्या भएको १५ दिन भएको छ ।

घटनास्थलको प्रकृतीका आधारमा यो निकै योजनाबद्ध र रहस्यमय हत्या भएको प्रहरी अधिकारीहरु बताउँछन् । किनकी घटना बन्द घरभित्र भएको छ । नयाँ पत्रिकामा खबर छ ।

अहिलेसम्मको अनुसन्धानमा हत्या गर्ने व्यक्तिहरु पहिलो तलामा रहेको झ्यालको जाली काटेर भित्र छिरेको आँकलन गरिएको छ । तर, त्यसको विश्वस्त आधार छैन । झ्यालको जाली थोरै मात्र काटिएको छ, जहाँबाट मान्छे भित्र छिर्न सम्भव छैन । त्यसबाट हात छिराएर झ्यालको लक खोलेर भित्र छिरेको हुनसक्ने अर्को आँकलन गरिएको छ ।

तर, जाली पहिले नै काटिएको जस्तो खिया लागेको छ र झ्यालको धुलो हेर्दा त्यहाँबाट कोही प्रबेश गरेको जस्तो देखिन्छ । जून झ्यालको जाली काटिएको छ, त्यही कोठामा झाकी श्रीमती सुत्ने भएकाले उनले थाहा नपाउनु घटनाको अर्को रहस्य छ ।

अर्कोतर्फ झाको कसैसँग दुश्मनी रहेको पनि पत्ता लागेको छैन । बुढानिलकन्ठको जग्गा बेच्ने क्रममा भने उनको केही सामान्य विवाद भएको थियो । त्यसलाई आधार बनाएर पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हत्या गर्ने व्यक्तिले घरबाट केही लगेका पनि छैनन् । हालसम्म प्रहरीले अनुसन्धानको बाटो नै पत्ता लगाउन सकेको छैन ।

त्यस्तै, प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको संसदीय सुनुवाइ चलिरहँदा १५ साउनमा एक समूहले नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल देखाएर मोबाइल लुटेको घटना पनि रहस्यमै छ ।

अचम्म के छ भने घटनाको अनुसन्धानका लागि उनले अहिलेसम्म प्रहरीमा जाहेरी दिएकी छैनन् । सांसद पालले नै अनुसन्धानमा धेरै चासो नदिएकाले प्रहरीले यो अनुसन्धानलाई गम्भीरताका साथ लिएको छैन ।

पालले प्रहरीलाई भनेका कुरा र अनुसन्धानका कतिपय प्राविधिक नतिजामा भिन्नता देखिएको छ । स्वीच अफ रहेको मोबाइल लुटिएको उनको भनाई थियो ।

जून मोबाइल अहिलेसम्म स्वीच अन भएको छैन । जसले अर्को हाइप्रोफाइल घटनाको अनुसन्धान रहस्यमै अल्झेको छ ।

प्रकाशित मिति: १९ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्