बिराटनगरमा भव्य रुपमा निस्कियो श्री राधाकृष्ण रथयात्रा


 


विराटनगर, भदौँ १८

भगवान् श्री राधाकृष्ण रथयात्राको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज विराटनगरमा शुभारम्भ गर्नुभएको छ । विशेष पूजापाठ गरी उल्लासमय वातावरणमा नगर परिक्रमाका लागि निस्किएको सो रथ विराटनगर–१ को पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिरको परिसरबाट युगल मूर्तिलाई रथमा राखी सो स्थलबाट अपराह्न ४ बजे रथयात्रा शुरु भएको हो ।

रथयात्रा नगरको तीनपैनी, गोल्छामोड, ट्राफिकचोक, महेन्द्रचोकबाट बरगाछीचोक हुँदै करीब आठ किलोमिटरको दूरी तय गरी सोही मन्दिरको परिसरमा पुगेर रथयात्रा सम्पन्न भएको छ । सो अवधिमा रथलाई ४४ स्थानमा विश्राम गराईएको मूल समारोह समितिले जनाएको छ । रथयात्राको मार्गमा पर्ने सडकको दुबै पेटीमा हजारौँ श्रद्धालुका साथै भवनको छत र कौसीबाट रथमाथि फूलका साथै जल अर्पन गरिरहेका देखिन्थे ।

 

उक्त रथयात्राको अवधिमा विभिन्न मन्दिर एवम् धार्मिक संस्थाका रथ र कलश यात्राका साथै विभिन्न सांस्कृतिक झल्कने दर्जनौँ झाँकी, नाचलगायत प्रदर्शन गरिएको थियो । रथको दर्शन गर्नका लागि आएका श्रद्धालुलाई विभिन्न ठाउँमा सङ्घसंस्था र क्लबद्वारा निःशुल्क रुपमा चिसो पेय पदार्थ वितरण गरिरहेको देखियो । मोरङ, झापा, सुनसरीका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत गरी हजारौँ श्रद्धालुले रथयात्राको दर्शन गर्न आएका छन् । प्रदेश सरकारले आज सुनसरी र मोरङ सार्वजनिक बिदा दिने निर्णय पनि गरेको थियो । रासस

प्रकाशित मिति: १८ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्