झापामा भारतीय नोटसहित एक युवक पक्राउ


 


भद्रपुर, भदौँ १८

झापाको पूर्वी नाका काँकडभिट्टाबाट लुकाइछिपाई रु १२ लाख ८० हजार भारतीय रुपैयाँ ल्याउन खोज्ने एक युवकलाई आज प्रहरीले भन्सार कार्यालय भित्रैबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर–६ का ३२ वर्षीय रवीन्द्र बज्राचार्य रहेको छ । उनले भन्सारबाट लुकाइछिपाई सन्दिग्ध अवस्थामा सो नगद ल्याएको हुँदा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका बज्राचार्यलाई आवश्यक अनुसन्धानका लागि आजै नेपाल एयरलायन्सको जहाजबाट राजस्व अनुसन्धान विभाग काठमाडौँमा पठाइएको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले जानकारी दिनुभयो ।

भारतको सिक्किमबाट पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल प्रवेश गरेका बज्राचार्यको झोला भन्सार चेकपोस्टमा एक्स–रे मेसिनबाट जाँच गर्दा उक्त रकम बरामद गरिएको हो ।

बज्राचार्यको साथबाट बरामद गरिएको भारतीय नोटमा रु ५०, रु १००, रु २००, रु ५०० र रु एक हजार को रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश घिमिरेले जानकारी दिनुभयो ।

सो नगद के प्रयोजनका लागि ल्याइएको हो भन्ने कुरा अनुसन्धानपछि मात्र खुल्ने प्रहरीको भनाइ छ । रासस

प्रकाशित मिति: १८ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्