तराई–मधेशको विकासका लागि सरकार प्रतिबद्ध : अर्थमन्त्री खतिवडा


 


राजविराज, भदौँ १८

अर्थमन्त्री डा युवराज खतिवडाले तराई–मधेशको आर्थिक तथा सामाजिक विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सप्तरीको राजविराजमा उद्योग वाणिज्य सङ्घ सप्तरीद्वारा आज आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले पूर्वाधार विकासका लागि तराई मधेशमा हुलाकी सडक निर्माण कार्य जारी रहेको र पूर्व–पश्चिम रेलमार्गसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।

रेलमार्गसम्बन्धी भारत सरकारसँग कुराकानी भइरहेको बताउँदै काँकडभिट्टादेखि बर्दिवाससम्म रेलमार्ग निर्माण कार्य चाँडै शुरु हुने अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो । पूर्वाधार विकासका लागि तराई मधेशमा खर्चेको बजेट सदुपयोग हुनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले कुनोली भन्सार र छोटी भन्सार कार्यालय तथा तराई मधेशमा रहेको भन्सार कार्यालयको स्तरोन्नतिका लागि गृहकार्य भइरहेको बताउनुभयो । रासस

प्रकाशित मिति: १८ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्