विरोधको मेलो खोज्दै कांग्रेस, चिकित्सकको आन्दोलनमा समर्थन


 


काठमाडौं, भदौ १८
सरकार विरुद्धका भएका आन्दोलनमा समर्थन गर्दै आएको कांग्रेसले अहिले फेरि मुलुकी देवानी (संहिता) ऐनको विरोधमा सडकमा उत्रेका चिकित्सको आन्दोलनलाई साथ दिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपचार सेवा नै ठप्प पार्दै आएका चिकित्सकहरुको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताएका छन् ।

आज विहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले चिकित्सकका मागहरु जायज भएको बताए । ‘चिकित्सकहरु आन्दोलनमा छन्,’ उनले भने, ‘उनीहरुको जायज मागहरु सम्बोधन हुनुपर्छ ।’

सभापति देउवाले आफू प्रधानमन्त्री हुँदा अहिले जारी मुलुकी देवानी (संहिता)का बारेमा सबैसंग छलफल गरेको भएपनि कसैको चित्त नबुझेका जायज माग पूरा हुनुपर्ने बताए ।

साथै उनले सरकारका पछिल्ला कामकारबाही सहि ढंगले अघि बढ्न नसकेको बताए । देशमा बढेका बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै सभापति देउवाले दोषीको पहिचान गरी कारबाही गराउन सरकार असफल भएको बताए । यस्ता कुरामा सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति: १८ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्