भारतीय नेता भन्छन्– नेपालबारे मोदी सरकार विफल


 


एजेन्सी, असोज १४

भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइले नेपाल मामलामा भारत सरकार विफल भएको भन्दै कडा आलोचना गरेको छ । कांग्रेस आइका प्रवक्ता अभिषेक मनु सिंघवीले बुधबार पत्रकारहरुसँग कुरा गर्दै नेपाल मामलामा मोदी सरकारको ‘कुटनीतिक विफलता’ देखिएको प्रष्ट पारे ।

उनले भने, ‘छिमेकी मुलुक नेपालसँग भारतको सम्बन्ध निकै निकट, गहिरो र समवेदनशील रहँदै आएको छ तर केही समय यता, यो सम्बन्धमा विश्वासको कमी देखिएको छ, जो दुर्भाग्यपूर्ण छ ।’ नेपालसँग भारतको सम्बन्ध हमेसा सौहार्द्रपूर्ण रहँदै आएको चर्चा गर्दै उनले दुबै देशले एक–अर्कालाई जोडेर हेर्ने गरेको प्रष्ट पारे ।

‘तर अहिले नेपालमा जे भइरहेको छ, त्यो मोदी सरकारको कुटनीतिक विफलतालाई दर्शाउन पर्याप्त छ,’ उनले भने । भारतीय पक्षको नाकाबन्दीका कारण नेपालमा अत्यावश्यक बस्तुहरुको कमी भइरहेको भन्दै उनले अगाडी भने, ‘यसको दुरगामी परिणाम दुबै देशको हितमा हुनेछैन ।’

विगत एक वर्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई पटक नेपाल भ्रमणमा गएको उल्लेख गर्दै सिंघवीले भने, ‘विदेशमन्त्री र विदेश सचिव पनि पटक–पटक नेपाल गएका छन् । यसका बाबजुद नेपालमा नाजुक अवस्था सिर्जना भएको छ ।’

मोदीको विदेश भ्रमणप्रेमलाई निशाना बनाउँदै उनले अगाडी भनेका छन्, ‘टाढाका मुलुकमा भ्रमण गर्नु राम्रै कुरा हो तर छिमेकीलाई बढी महत्व दिन जरुरी छ ।’ उनले पाकिस्तानसँग भारतको वार्ता बन्द हुनु, नेपालसँगको सम्बन्ध बिग्रिनुमा मोदी सरकारको कुटनीतिक विफलता देखिएको बताए ।

नेपालसँगको सम्बन्धलाई सन्तुलित ढंगबाट समाधान गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘नेपालमा एकातिर मधेसी र जनजातिहरुले संविधान निर्माणमा आफूहरुको उपेक्षा भएको बताइरहेका छन् भने अर्कोतिर उनीहरुको पक्षमा देशभित्र र बाहिरबाट आवाज आउनुलाई अर्काथरीले देशको आन्तरिक मामलामा हस्तक्षेप मान्ने गरेका छन् ।’

यस्तो अवस्थामा भारतले नेपालका समस्यालाई सावधानीपूर्वक समाधान गर्न सहयोगी भूमिका निर्वाह गर्नुपर्ने उनको तर्क छ । यसैबीच भारतीय संचारमाध्यमले नेपालमा भइरहेको आन्दोलन र नाकाबन्दीका कारण सीमावर्ती भारतीय सहरमा व्यापारीहरु चिन्तित हुन थालेको विषयलाई पनि प्राथमिकता दिन थालेका छन् ।

भारतीय दैनिक पत्रिका नवभारत टाइम्सले सीमावर्ती भारतीय बजार सुनौली, बढनी, ककरहवा लगायतका क्षेत्रमा व्यापार चौपट भएको जनाएको छ । चाडवाड नजिकिदैं गर्दा ती बजारमा ठूलो संख्यामा नेपाली ग्राहक किनमेलका लागि आउने गरेकोमा आन्दोलनका कारण अहिले व्यापार–व्यवसाय चौपट भएको सो अखबारले जनाएको छ ।

प्रकाशित मिति: १४ आश्विन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्