पार्टीभित्र रावलको असन्तुष्टि: ‘राष्ट्रियताको अडानले ममाथि षड्यन्त्र भयो’


 


तपेन्द्र कुँवर
अछाम, भदौ १८
पूर्वउपप्रधानमन्त्री तथा नेकपा नेता भीम रावलले एमाले र माओवादी केन्द्रबीचको एकीकरणका क्रममा आफूलाई कमजोर पार्नको लागि षडयन्त्र भएको बताएका छन् ।

अछामस्थित रेडियो जनप्रीयको ‘जनप्रीय बहस’मा सोमबार विहान टेलिफोनमा कुरा गर्दै नेता रावलले योग्यता क्षमता भएका नेता कार्यकर्तामाथि अन्याय गरेको गुनासो गरे ।

उनले आफूले राष्ट्रियताको पक्षमा लिएको अडान केही व्यक्तिले पचाउन नसकेका कारण आफूलाई पछाडि धकेल्ने काम भएको बताए । ‘पार्टीले मन्त्री बनाउदा होस या पार्टीको जिम्मेवारी दिँदा दुवै काममा योग्यता र क्षमता भएकालाई अन्याय गरेको छ,’ उनले भने ।

नेता रावलले वर्तमान सरकार र पार्टी उच्च तहमा प्रदेश ७ को यथोचित प्रतिनिधित्व नभएको गुनासो गरे ।

सरकारमा उचित प्रतिनिधित्वका विषयमा पार्टीको प्रदेश कमिटी र बजेटमा प्राथमिकताका विषयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटी माग राखेपनि उचित व्यवस्था नभएको उनले बताए ।

तत्कालिन सुदूरपश्चिम र अहिलेको ७ नम्बर प्रदेश आर्थिक, सामाजिक र राजनीतिक हिसाबले पनि पछाडि परेको उनको भनाई छ ।

सोही अवसरमा नेता रावलले अछामको समृद्धिसँग जोडिएको सेती लोकमार्ग, मध्यपहाडी मार्ग, बुढीगंगा जलविद्युत आयोजनाको काम अघि बढिरहेको बताए । यस्तै, उनले साँफेबगर विमानस्थल सुचारुको लागि आफू निरन्तर छलफलमा रहेको बताए ।

प्रकाशित मिति: १८ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्