संविधान दिवसलाई राष्ट्रको साझा चाडका रुपमा मनाउनुपर्ने


 


काठमाडौँ, भदौ १७

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई राष्ट्रको साझा चाडका रुपमा मनाउनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको राष्ट्रको सबैभन्दा ठूलो पर्व संविधान दिवसलाई महोत्सवका रुपमा मनाइनुपर्नेमा जोड दिनुभयो ।

“संविधान दिवसलाई हाम्रा चाड, उत्सव र दिवसमध्ये राष्ट्रको साझा दिवसका रुपमा मनाइनुपर्छ किनकि हाम्रो सङ्घर्ष र बलिदानको सम्मानको खातिर प्राप्त उपलब्धिलाई संस्थागत गर्दै भविष्यको बाटो सुनिश्चित गर्ने काम संविधानले गर्छ, त्यसैले दिवसलाई तदअनुसार नै राष्ट्रिय साझा दिवसका रुपमा मनाइनुपर्छ”, प्रधानमन्त्रीले भन्नुभयो ।

संविधान दिवसलाई सरकारी कर्मकाण्डीका रुपमा मात्रै सीमित गर्न नहुने बरु यसलाई जनस्तरमा पुर्याइनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सरकारी कार्यक्रम कर्मकाण्डी भए । जनताले अनुभूत गर्न पाएकै छैनन् । संविधान दिवस एउटा व्यक्तिको जन्मदिन मनाएजस्तो होइन, यसलाई पृथक ढङ्गले मनाउनुपर्छ ।”

प्रधानमन्त्री ओलीले धेरै ठूलो असहज र अप्ठ्यारोबाट संविधान जारी गरी कार्यान्वयनको दिशामा अघि बढेको र त्यसअनुसारको संरचना बनेको उल्लेख गर्दै यसको सम्बद्र्धनमा दृढतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्