बालविवाह रोक्न बाल क्लबहरुको सक्रियता


 


भोजपुर, भदौ १७

बालविवाहको संख्या बढ्न थालेपछि यसको न्यूनीकरणको लागि बालबालिकाहरु आफैं अग्रसर भएका छन् । २० वर्ष उमेर नपुगि विवाह गर्न नहुने कानुनी प्रावधान भएपनि चेतनाको अभाव तथा लहडमा लागेर ७/८ कक्षा पढ्दा देखि नै विवाह क्रम बढेर गएको छ ।

पछिल्लो समयमा विशेषगरि मोवाइल फोन र फेसबुकजस्ता सामाजिक सञ्जालका कारण भविश्यको फाइदा वेफाइदा कुनै कुरा नसोची कम उमेरमै विवाह गर्ने प्रचलन बढेको छ ।

महिला तथा बालबालिका कार्यालय भोजपुरका पूर्व बाल अधिकार अधिकृत तथा बाल अधिकारकर्मी उत्तम खड्काका अनुसार जिल्लाको अधिकांस ग्रामीण क्षेत्रमा बालविवाहका घटना बढ्दो छ ।

‘अभिभावक तथा बालबालिकाहरुमा कम उमेरमा विवाह गर्दाका असरबारे पनि थाहा नहुने साथै अहिले सबैको हातमा मोवाइल हुने भएकाले त्यसको सहि सदुपयोग नभइरहेकोले बालविवाह बढेको यसले समाजमा विकराल रुप लिंदै गएको छ ।’ खड्काले भने ।

स्थानीय बाल क्लब र बाल सञ्जालहरुले सानो उमेरमा हुने विवाहलाई न्यूनीकरणका लागि साथीभाइमाझ र स्थानीय स्तरमा सचेततामूलक कार्यक्रमहरु गर्न थालेका छन् ।

अभिभावकको करकापमा नभई अधिकांस बालबालिकाहरु भने आफूखुशी विहे गर्ने गरेको सगरमाथा मावि घोडेटारका प्रधानाध्यापक हेमराज न्यौपाने बताउँछन् । त्यसरी गरिएको विहे धेरै दिनसम्म नटिकेर पारिवारिक मिलनमा विचलन आएको उनको भनाइ छ ।

बालमैत्री स्थानीय शासनसम्बन्धी वडा तथा गाउँपालिकाहरुसँगको सहजीकरणमा स्थानीय गैरसरकारी संघसंस्थाहरुले बालअधिकारसम्बन्धी विभिन्न तालिम, सचेतनामूलक क्रियाकलापहरु सञ्चालन गर्दै आएका छन् ।

ति कार्यक्रमहरुपश्चात बालबालिकाहरु आफ्नो अधिकारका लागि आफैं अगुवा भएर लागेका छन् । हतुवागढी गाउँपालिका वडा नं. ८ का वडास्तरीय बाल सञ्जालका अध्यक्ष रुपेश कार्की आफूहरु नियमित बैठक बसेर गाउँका बालबालिकाका मुद्दाहरुको विषयमा सामुहिक छलफल गरि समस्या समाधानका लागि अग्रसर हुन थालेको बताउँछन् ।

उनले आफूहरुबाट मात्र समाधान संभव नहुने समस्याको जनप्रतिनिधी, शिक्षक तथा सम्बन्धित निकायसँग सहयोग माग्ने गरेको बताए ।

अहिले हतुवागढी गाउँपालिकाको ९ वटै वडाहरुमा बालबालिकाहरुले बाल क्लबहरु गठन गरि बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेका छन् ।

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्