विराटनगर महानगरपालिकामा बम विष्फोट गराउने तीन पक्राउ


 


बिराटनगर, भदौँ १७

मोरङको विराटनगर महानगरपालिकामा २१ दिन अघि गराइएको बम विष्फोटमा जयकृष्ण गोइत नेत्रृत्वको सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ती मोर्चा (क्रान्तिकारी) को संलग्नता पुष्टि भएको छ ।

प्रहरीले प्रेसर कुकर बम विष्फोटमा संलग्न तीन जनालाई पक्राउ गरेपछि घटनामा गोइत समूहको संलग्नता पुष्टि भएको हो । प्रहरीका एक अधिकारीले लामो समयको अनुसन्धानपछि ठूलै मेहनत गरेर विष्फोटमा संलग्नलाई पक्राउ गर्न सकिएको जानकारी दिए ।

महानगरपालिका कार्यालयमा गत साउन २७ गते दिउँसो २ बजे बम विष्फोट गराइएको थियो । विष्फोटमा संलग्न मध्ये एक जनालाई विराटनगरबाट र दुई जनालाई सिरहा जिल्लाबाट आज विहान २ बजे पक्राउ गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई मोरङ प्रहरीको हिरासतमा राखेर थप सोधपुछ गर्ने काम भइरहेको छ । उनीहरुले घटनामा संलग्नता स्वीकार गरिसकेको प्रहरीले बताएको छ । उनीहरु विरुद्ध विष्फोटन सम्बन्धी र ज्यान मार्ने उद्योगमा मुद्धा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ ।

प्रहरीका एक अधिकारीले तीन जना भन्दा बढीको संलग्नतामा घटना गराइएका कारण संगठित अपराध ऐन पनि आकर्षित हुन सक्ने र त्यस विषयमा आवश्यक अनुसन्धान अघि बढाउन कानुनविद्हरुसंग राय लिने र आवश्यक सल्लाह गर्ने काम भइरहेको जनाएका छन् । पक्राउ परेका तीनै जना गोइत नेत्रृत्वको जनतान्त्रिक तराई मुक्ती मोर्चा (क्रान्तिकारी) का कार्यकर्ता रहेको जनाइएको छ ।

पक्राउ परेका मध्ये मोरङको जहदा गाउँपालिकाका मनोज सिंहको मात्रै नाम खुलेको छ । अरु दुई जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले छ जनाको संलग्नतामा घटना गराइएका कारण थप अनुसन्धान गर्नु पर्ने भन्दै पक्राउ परेका तीन जनाको विवरण दिन मान्नु भएन ।

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्