भगवान् श्रीकृष्णको पूजा–आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ मनाईदै


 


काठमाडौं, भदौँ १७

भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ आज देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात आजैका मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस अवसरमा देशभरीका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने गर्छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उहाँका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । यो ग्रन्थ धेरै भाषामा अनुवाद भइसकेको छ ।

प्रकाशित मिति: १७ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्