लहडले नेता बनिदैन : अध्यक्ष दाहाल


 


काठमाडौँ, भदौँ १६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने विषय भएको बताउनुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा आज बिहान नेत्रविक्रम चन्द नेतृत्वको पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्षले भन्नुभयो, “कसैलाई रहर लागेर नेता हुनसक्ने होइन । इतिहास र जनताले आन्दोलनको क्रममा पार्टी, नेता र विचारको विकास गर्ने कुरा हो । लहडले नेता बनिंदैन ।” उहाँले आफूहरुले जनयुद्ध र शान्ति प्रक्रिया दुबैको नेतृत्व गरेको उल्लेख गर्दै लामो सङ्घर्ष र बलिदानपछि देश गणतन्त्रको युगमा प्रवेश गरेको बताउनुभयो ।

अध्यक्ष ‘प्रचण्ड’ले भन्नुभयो, “अब हामी सामाजिक न्याय र समृद्धिको एउटा प्रक्रियामार्फत समाजवादको तयारीमा छौँ ।” पार्टीमा नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उहाँले सबैलाई बिना पूर्वाग्रह उचित भूमिका दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी छोडेर अन्य पार्टीमा गएर अनुभव हासिल गरेका तपाईं नेता तथा कार्यकर्ताप्रति मेरो कुनै पूर्वाग्रह हुन्न ।” रासस

प्रकाशित मिति: १६ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्