‘अध्ययन गर्ने बानी बसाल्नुपर्छ’ : मन्त्री घिमिरे


 


विराटनगर, भदौँ १५

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले समय अनुकूल योग्यता हासिल गर्न पुस्तकालय अध्ययन गर्ने बानी बसाल्नु पर्ने बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित ११औँ पुस्तकालय दिवसको उद्घाटन गर्दै उहाँले अध्ययनले नै विचार उत्पन्न हुने भएकाले अध्ययन गर्ने बानी बसाल्न सुझाव दिनुभयो । मन्त्री घिमिरेले ज्ञान आर्जनका लागि सबैभन्दा राम्रो स्थान पुस्तकालय नै भएको उल्लेख गर्दै पुस्तकालय आधुनिक प्रविधिमा जानुपर्छ भन्नुभयो ।

पुस्तकालयमा पुस्तक छन् तर पाठक नभएको अवस्थाको गहन खोजी र विश्लेषण हुनुपर्छ भन्दै उहाँले पुस्तकालयको परिभाषा र स्वरुप पनि रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयले स्थापना गरेको पुस्तकालय आजदेखि सञ्चालनमा आएको छ । रासस

प्रकाशित मिति: १५ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्