सडक विस्तारका काम तत्काल सम्पन्न गर्न निर्देशन


 


काठमाडौँ, भदौँ १३

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खाल्डाखुल्डी मर्मतसहित सडक विस्तारका क्रममा बाँकी रहेका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

चाबहिल–बौद्ध–जोरपाटी र कलङ्की–नागढुंगा सडकको अनुगमनका क्रममा तीव्र गतिमा सडक विस्तारका काम हुन नसकेको पाइएको भन्दै मन्त्रिपरिषद् कार्यालयले सडकमा रहेका बिजुली र टेलिफोनका पोल तथा तार हटाउन निर्देशन दिएको हो । सडकमा भएका खाल्डाखुल्डी पुर्ने, सडकमा आउने पानीलाई नालीमार्फत मुख्य ढलमा पठाउने र निर्माण सामग्री तथा फोहोरमैलाको उपयुक्त स्थानमा व्यवस्थापन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिइएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

सो कार्यालयले मंगलबार गरेको अनुगमनका क्रममा चाबहिल–बौद्ध–जोरपाटी सडक दुई वर्षको योजना अवधिमा करीब ३० प्रतिशत मात्र काम सम्पन्न भएको पाइएको थियो । सडक विस्तार आयोजना बानेश्वरको जिम्मेवारीमा रहेको उक्त सडक खण्डका केही ठूला खाल्डाखुल्डी पुरिएको भएतापनि अझै सडकमा स–साना खाल्डाखुल्डी देखिएको छ । रासस

प्रकाशित मिति: १३ भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्