निर्मला हत्याकाण्ड: प्रहरी भन्छ, ‘एसपीका छोरा र मेयरका भतिजाको संलग्नता छैन’


 


अंकुश कुँवर
महेन्द्रनगर, भदौ १३

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाम खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्यामा तत्कालिन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टका छोरा र नगरप्रमुख सुरेन्द्र बिष्टका भतिजाको कुनै संलग्नता नरहेको प्रहरीले बताएको छ ।

हत्याकाण्डबारे मंगलबार स्थलगत अनुगमनमा महेन्द्रनगर पुगेको प्रदेश नम्बर ७ को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको टोलीसमक्ष कञ्चनपुर प्रहरीले यस्तो रिपोर्टिङ गरेको हो । कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुबेर कडायतले आन्दोलनकारीले हत्यामा आशंका गरिएका तत्कालिन एसपी बिष्टका छोरा र मेयर बिष्टका भतिजाको कुनै संलग्नता नरहेको बताए ।

उनले आशंकाका भरमा दुई जनाको नाम हत्यारा भन्दै हल्ला फिजाइएको बताए । ‘एसपीका छोरा र मेयरका भतिजाको नाम हत्यारा भन्दै खाली हल्ला मात्रै फिजाइयो’ उनले भने, ‘घटना भएको दिन एसपीका छोरा साथीको घरमा थिए भन्ने छ, मेयरका भतिजाको पनि संलग्नता पाइएको छैन ।’

यसअघि हत्या आरोपमा दिलिप बिष्टलाई पक्राउ गरेपछि आन्दोलन चर्किदा घटनाबारे नयाँ तरिकाले अध्ययन अनुसन्धान सुरु भएको एसपी कडायतले बताए । निर्मलाकी साथी रोशनी बम र उनकी बविता बमकै घरबाट अनुसन्धान गर्नुपर्ने भएकाले उनीहरुलाई नियन्त्रणमा लिएर काम अगाडि बढिरहेको उनले जानकारी दिए ।

सुस्त मनस्थितिका दिलिप विष्ट पक्राउ परेपछि हत्यारा लुकाउन खोजिएको भन्दै आन्दोलन चर्किएको थियो । जुन आन्दोलनबाट एक किशोरको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । आन्दोलन हिंसात्मक भन्दै गएपछि प्रहरीले कफ्र्यू लगाउनुका साथै सरकारले उच्चस्तरीय टोली गठन गरेको थियो ।

अहिले आन्दोलनको भिडबाटै हत्याको अनुसन्धान बम दिदीबहिनीहरुबाटै गर्नुपर्ने आवाज उठेपछि प्रहरीले अहिले उनीहरुलाई पक्राउ गरेको हो ।

विष्टमाथि पनि छानविन जारी

प्रहरीले अध्ययन अनुसन्धानलाई नयाँ शिराबाट अगाडि बढाइरहेको दाबी गरिरहेको छ भने अर्कोतर्फ यसअघि पक्राउ परेर पनि पीडित परिवार स्थानीयले नपत्याएका सुस्त मनस्थितिका दिलिप विष्टमाथि पनि छानविन जारी राखेको छ ।

जिल्ला प्रहरी प्रमुख कडायतकाअनुसार प्रहरीले यसअघि पक्राउ परेका सुस्त मनस्थिति भनिएका बिष्टमाथि पनि अनुसन्धान जारी प्रष्ट पारे । विष्टको स्वास्थ्य अवस्थाका जाँचका लागि उनलाई मंगलबार नै काठमाडौं लगिएको छ ।

’गोली हान्नुुको विकल्प थिएन ?’
घटनाबारे जानकारी लिनेक्रममा कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले आन्दोलनका क्रममा प्रहरीले गोली नै हान्नुको बाध्यकारी अवस्थाका बारेमा जान्न खोजेको थियो ।

उनको जिज्ञासामा प्रहरी प्रमुख कडायतले आन्दोलन हिंसात्मक हुँदै गइरहेका बेला भीड नियन्त्रणका लागि आवश्यक स्रोत साधान अभाव भएपछि कुनै विकल्प नहुँदा गोली नै चलाउनुपर्ने स्थिति आएको बताए ।

उनले भीड नियन्त्रणका लागि चाहिने पानीको फोहोरा, लाठीलगायत अन्य सामग्रीको अभाव भएको बताए ।

निश्पक्ष छानविन गर्न सुझाव
कांग्रेस संसदीय दलको टोलीले सुरक्षा निकायलाई घटनाबारे दोषि उम्किन नपाउने गरि निश्पक्ष छानविन गर्न सुझाव दिएको छ । प्रदेशसभा सदस्य भरत खड्काले अब घटनाबारे नयाँ टोली आइसकेपछि दोषीले उन्मुक्ति नपाउने गरि घटनाबारे निश्पक्ष छानविन गर्नुपर्ने बताए।

सोहीक्रममा प्रदेशसभा सदस्य नन्दा बमले नयाँ टोली आइसकेपछि जनमानसमा निश्पक्ष छानविन हुने अपेक्षा रहेकाले सोहीअनुसार अनुसन्धानलाई अगाडि बढाउन आग्रह गरिन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले अहिले कसैको प्रभाव र दवावमा नपर्ने गरि अनुसन्धान टोलीले घटनाबारे छानविन गरिरहेको विश्वास दिलाए ।

उनले यसअघि बलात्कारका घटना सहीको नेतृत्वमा पनि छानविन भएको बताउँदै उहाँले अहिलेको यो जटिल अवस्थामा उच्चस्तरीय टोली नै खटिएकाले यसले निश्पक्ष नतिजा प्राप्त गर्ने बताए ।

‘अपराधी पत्ता लाग्ला भन्ने अझै विश्वास छैन’
पीडित परिवारले राहत भन्दा न्याय आवश्यक भएको बताएका छन् । घटनाको स्थलगत अनुुगमनमा गएकोे नेपाली कांग्रेस संसदीय दलको टोलीसमक्ष पीडित परिवारसंग राहत भन्दा पनि न्याय चाहिएको बताएका हुन् ।

बलात्कारपछि हत्या गरिएकी स्वर्गीय निर्मला पन्त र आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका सन्नी खुनाका परिवारसंग टालीले भेटघाट गरेको थियो । घटनाबारे सम्बन्धित निकायसंग जानकारी लिएर संसदीय दलको टोलीले पीडित परिवारसंग भेटघाट गरेको हो ।

भेटघाटका क्रममा टोलीले पीडित परिवारबाट घटनाबारे थप जानकारी लिनुका साथै सान्त्वना दिएको छ । निर्मलाकी कान्छी आमा लक्ष्मी पन्तले न्याय नै राहत भएकाले सबैभन्दा पहिले आफूहरुलाई न्याय चाहिने बताइन् । उनले घटनाबारे अध्ययन गर्न नयाँ टोली आएको भएपनि अपराधी पत्ता लाग्नेमा आफू भने विश्वस्त नभएको बताए ।

‘अहिले नयाँ टोलीले घटनाको अनुसन्धान गर्न बम दिदीबहिनीलाई पक्राउ गरेको छ’ उनले भनिन्, ‘दोषी पत्ता लाग्छ भन्ने आशा गरेका छौं तर, विश्वास भने छैन ।’ घटनामा ठूलै शक्तिको हात भएको बताउँदै उनले अझै पनि अपराधी पत्ता लाग्ला भन्ने विश्वास नभएको बताउनुभयो । उहाँले प्रहरीको पछिल्लो गतिविधिले पनि प्रहरीले निश्पक्ष नतिजा देला भन्ने नलागेको बताइन् ।

त्यस्तै, खुनाका परिवारले पनि राहत भन्दा न्याय नै ठूलो भएकाले अपराधी पत्ता लगाउन सरकारले ध्यान दिनुपर्ने माग गरेका छन् ।

मृतक खुनाकी दिदी प्रियंका खुनाले राहतको नाममा आउने पैसा अहिलेका लागि मात्रै भएकाले पीडितलाई न्याय दिनुपर्ने बताइन् । ‘रातहको नाममा आउने पैसा आज छ भोलि छैन’ उनले भनिन्, ‘पीडितका लागि सबैभन्दा ठूलो कुरा न्याय नै हो ।’ साथै उनले बलात्कारपछि हत्या गर्ने अपराधीलाई काराबारी गर्नुपर्ने भन्दै आन्दोलनका क्रममा मृत्यु भएका आफ्नो भाईलाई शहीद घोषणा गर्न माग गर्नुका साथै र शालिक निर्माण गर्नुपर्ने माग गरिन् ।

घटनाबारे स्थलगत अनुगमनमा गएको प्रदेश ७ सरकारको प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलको नेतृत्वमा गएको टोलीमा प्रदेशसभा सदस्य भरत खड्का, नन्दा बम र अम्भी थापाको सहभागिता थियो ।

प्रकाशित मिति: १३ भाद्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्