उर्लाबारीबाट बालिका अपहरण गर्न खोज्ने पक्राउ


 


उर्लाबारी, भदौँ १२

मोरङको उर्लाबारी नगरपालिका ६ बाट चार वर्षीय बालिकालाई अपहरण गरेर लैजाँदै गरेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएर स्थानीय बासिन्दाले प्रहरीलाई बुझाएका छन् ।
स्था

नीय कमलकुमार घिमिरेकी छोरी कृतिकालाई अपहरण गरेर केही पर पुर्याएपछि झापाको दमक ८ घर बताउने ३० वर्षीय गोपाल कार्कीलाई स्थानीयले नियन्त्रणमा लिएर बुझाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताउनु भयो । उहाँका अनुसार स्थानीयले बालिकालाई अपहरणमुक्त गर्दै घटनामा संलग्नलाई नियन्त्रणमा लिएका हुन् ।

अपहरण गरेको थाहा नपाएको भए बालिकालाई अपहरणमुक्त गर्न समस्या पर्ने तिमल्सिनाको भनाइ छ । घरको आँगनमै साथीहरुसंग खेल्दै गरेको अवस्थामा हिजो साँझ ७ बजे बालिकालाई अपहरण गरेर लगभग दुई सय मिटर पर पुर्याएपछि स्थानीयले थाहा पाएका थिए । प्रहरीका अनुसार उनीसंगै सात÷आठ वर्ष उमेर समूहका अन्य चार/पाँच जना बालबालिका पनि खेल्दै थिए ।

छोरीलाई उठाउनु अघि उनीसंग खेल्दै गरेका अरुलाई लैजानका लागि फकाउने कोसिष गरिए पनि अरुले नमानेपछि चकलेट र फलफुल किनिदिन्छु भनेर फकाउँदै अपहरणकारीले आफ्नी छोरीलाई लिएर गएको बुवा कमलकुमारले बताउनु भयो । उहाँका अनुसार छोरी कृतिकालाई नयाँ मान्छेले लिएर गएको देखेपछि संगै खेल्दै गरेका बालबालिकाले घर भित्र गएर सुनाएका कारण घटना थाहा भएको हो । पक्राउ परेका कार्कीले दमक घर बताउने गरे पनि उनले नेपाली नागरिकता लगायतका कुनै पनि कागजपत्र पेश गर्न नसकेका कारण घटना रहस्यम बनेको प्रहरीले जनाएको छ । बरु उनको साथबाट आछाम राज्यको तीनसुकिया जिल्ला स्थित गोग्राहा टोलको परिचय पत्र फेला परेपछि घटना थप शंकास्पद र रहस्यमय बनेको जानकारी प्रहरी निरीक्षक तिमल्सिनाले दिनु भयो ।

पक्राउ परेका युवाले चिनजानकै जस्तो लगेर चकलेट र फलफुल किनेर दिन आफूले बालिकालाई लिएर गएको बयान प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा दिएका छन् । प्रहरीले उनको साथबाट भारतको जलपाईगुडी सम्मको रेलको टिकटको अर्धकट्टी र पाँच/पाँच सय रुपैयाँका दुईवटा भारतीय नोट पनि फेला पारेको छ ।

प्रहरीले बालिकालाई अपहरणपछि भारत कटाउन खोजेको हुन सक्ने आशंका गरेको छ । तिमल्सिनाले पक्राउ परेका युवा बालबालिका भारत कटाउने गिरोहमा संलग्न भएको आशंकामा अनुसन्धान सुरु गरिएको बताउनु भयो । उहाँले नेपाली कागजपत्र देखाउन नसक्नु, भारतमा लामो समयदेखि बसोबास गरिरहनु, साथमा भारतीय रुपैयाँ र रेलको टिकट समेत फेला पर्नुले बालिकालाई अपहरण गरेर भारततर्फ नै लैजान खोजेको देखाउने बताउनु भयो । प्रहरीले पक्राउ परेका कार्की विरुद्ध अपहरण मुद्धा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । घटना गम्भीर रहेका कारण अनुसन्धानपछि सबै वास्तविक कुरा खुल्दै जाने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १२ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्