नेकपाः कानून र सुकुम्वासी सङ्गठनमा सहमति


 


काठमाडौँ, भदौँ ११

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसङ्गठनको नाम ‘नेपाल कानून व्यवसायी सङ्गठन’ राख्ने सहमति भएको छ । प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन र गणतान्त्रिक तथा प्रगतिशील कानून व्यवसायी सङ्गठनको एकतापछि बन्ने सङ्गठनको नाम फेरिएको एकता कार्यदलका सदस्य रघुजी पन्तले जानकारी दिनुभयो ।

नयाँ सङ्गठनका संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दीनमणि पोखरेललाई प्रस्ताव गरिएको छ । कूल ४५ सदस्यीय कार्यसमितिका लागि प्रस्ताव गर्दै पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदनसमेत बुझाइएको कार्यदलका अर्का सदस्य नेपालले जानकारी दिनुभयो ।

कार्यदलमा पन्त, रमण श्रेष्ठ, वर्षमान पुन र नेपाल रहनु भएको थियो । यसैगरी भूमिहीन सङ्गठनको नाम ‘नेपाल राष्ट्रिय भूमिहीन सुकुम्वासी सङ्गठन’ राख्ने सहमति भएको छ । नेपाल भूमिहीन सुकुम्वासी सङ्गठन र अखिल नेपाल सुकुम्वासी सङ्घको एकतापछिको नाम पनि फेर्ने सहमति भएको सुकुम्वासी सङ्गठनका निवर्तमान महासचिव सरेश नेपालले जानकारी दिनुभयो ।

उनान्सय सदस्यीय नयाँ बन्ने केन्द्रीय कार्यसमितिका लागि संयोजकमा सुकुम्वासी सङ्गठन र सहसंयोजकमा सुकम्वासी सङ्घले दिइने समेत सहमति भएको उहाँले जानकारी दिनुभयो । सुकुम्वासी सङ्गठनको एकताका लागि हरिबोल गजुरेल, रामप्रीत पासवान, शत्रुघ्न महतो र दीपक थापाको कार्यदल बनाइएको थियो । रासस

प्रकाशित मिति: ११ भाद्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्