हार्डवेयर सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ


 


विराटनगर, भदौँ १०

एक हप्ता अगाडि विराटनगर महानगरपालिका–२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत ५० वर्षीय सुरक्षागार्ड टङ्क भट्टराईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आज यहाँ एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आज पत्रकार सम्मेलनको आयोजना गरी विराटनगर महानगरपालिका–४ जामुनगाछी बस्ने २६ वर्षीय सन्जय सहनीलाई आपसी विवाद् र लुटपीट गरी भट्टराईको हत्या गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले सिसी टिभीको माध्यमबाट अनुसन्धानको क्रममा निजलाई विराटनगर–१५ बाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

आरोपित सहनीले सुरक्षागार्डको हत्यापश्चात् रु दुई हजार ५०० नगद र मोबाइलसमेत लुटेर लगेका थिए । सुरक्षागार्ड भट्टराईको शव हार्डवेयरभित्रै हत्या गरेर छाडेको अवस्थामा भदौ ३ गते फेला परेको थियो ।

आँखा फुटाइएको र शरीरका विभिन्न भागमा भाला र रडले रोपेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । सहनी लामो समयदेखि विराटनगरमा ठेला चलाउँदै आएका श्रमिक हुन् । रासस

प्रकाशित मिति: १० भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्