आज जनै पूर्णिमा र रक्षा बन्धन पर्व मनाईदै


 


काठमाण्डौँ, भदौँ १०

आज जनै पूर्णिमा र रक्षा बन्धन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधेर मनाइँदैछ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा प्रचलित छ । यस दिन मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।

आजकै दिन तागाधारीले आफ्नो जनै अर्थात यज्ञोपवीत फेर्छन् । यसका लागि हिजैदेखि एक छाक मात्र खाएर चोखोनितो गरी बस्ने चलन छ । यसरी व्रत बसेका तागाधारीले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।

कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भनिन्छ । आज ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ ।

प्रकाशित मिति: १० भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्