मन्त्रिपरिषद्को शनिबार बसेको बैठकको निर्णय हरु


 


काठमाडौं, भदौ ९. मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले कञ्चनपुर घटनाका मृतक सन्नी खुन्नालाई सहिद घोषणा गरेको छ। साथै घटनामा ज्यान गुमाएको खुन्नाको परिवारलाई राहत स्वरुप १० लाख रुपैँया दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारकर्मी गोकुल बास्कोटाले बताए।

त्यसैगरी  बलात्कार गरी हत्या गरिएकी बालिका निर्मला पन्तको परिवारलाई पनि १० लाख रुपैयाँ दिने निर्णय भएको छ। सोही घटनाको विरोधमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि खुन्नाको शुक्रबार मृत्यु भएको थियो।  बैठकले घाइतेहरूकोे निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ ।

घटनाको छानबिन गर्न बनाइएको छानबिन समितिलाई समिति गठन भएपछिको घटनाको छानबिन गर्न पनि अख्तियारी दिने निर्णय भएको छ । चिकित्सकको सिफारिस बमोजिम अंगभंग भएकाहरूलाई आर्थिक सहयोग गराउने निर्णय पनि बैठकले गरेको छ।

त्यसैगरी निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा गृह मन्त्रालयले एसपी दिल्लीराज बिष्टलाई निलम्बन गर्ने निर्णय गरेको छ।

शनिबार मन्त्रालयले यस्तो निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए। छानबिन अवधिभरका लागि निलम्बन गर्ने निर्णय भएको हो। एसपी बिष्टलाई दुई दिनअघि कञ्चनपुरबाट हटाइएको थियो।

प्रकाशित मिति: ९ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्