कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी विष्ट निलम्बित


 


काठमाडौं, भदौ ९
१३ वर्षीया बालिका निर्मला पन्त हत्या सम्बन्धि प्रमाण नष्ट गर्न भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।

गृह मन्त्रालयमा आज दिउसो बसेको बैठकले हत्या घटनाको छानबिनमा विष्टले गरेको लापरवाहीबारे छानबिन गर्न उनलाई निलम्बन गरेको हो ।

एसपी विष्टमाथि हत्या प्रकरणबारे अनुसन्धानमा ढिलाइ गरेको, प्रमाण नष्ट गर्न भूमिका खेलेको लगायत आरोप लगाइएको छ। बलात्कारी र हत्यारालाई पत्ता लगाउन माग गर्दै कञ्चनपुरमा आन्दोलन चर्केर हिंसात्मक भएपछि सरकारले सक्रियता देखाएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्यालाई लिएर आन्दोलन हुँदा विष्ट कञ्चनपुरमा थिए । स्थानीयले उनकै छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपछि डीएसपी विष्टले सुनवाई गरेका थिएनन् ।

आन्दोलन चर्किएपछि गृह मन्त्रालयले विष्टसँगै प्रमुख जिल्ला अधिकारी परिर्वतन गरेको छ । डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टर बोलाइने भएको छ ।

कञ्चनपुरका आन्दोलनकारीले प्रहरी अधिकारीले नै छानबिन कमजोर बनाउने, प्रमाण नष्ट पार्ने र हत्यारा लुकाउन नक्कली अभियुक्त सार्वजनिक गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति: ९ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्