ताप्लेजुङमा भर्खरै भूकम्प गयो


 


काठमाडौँ, ८ भदौ
ताप्लेजुङमा ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ ।

आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो ।

यो गोरखा भूकम्प (७ दशमलव ६ रिक्टर स्केल) को परकम्प नभई भूकम्प नै भएको उहाँले बताउनुभयो । ठूला भूकम्प गएको बीचको समयमा यस्ता साना भूकम्प जाने गरेको विज्ञहरुको भनाइ छ ।
गोरखा भूकम्पको परकम्प पनि पातलो रुपमा गइरहेको छ । पछिल्लो समय गत असारमा दुई र साउनमा दुईवटा परकम्प गएको थियो । पछिल्लो पटक साउन १७ गते दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भई ४ दशमलव २ रिक्टर स्केलको परकम्प गएको थियो । त्यसअघि साउन ८ गते धादिङको गजुरी आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ रिक्टर स्केलको परकम्प गएको थियो ।

असार १४ धादिङको झार्लाङ र २१ गते सोही जिल्लाको सुनौलोबार आसपास केन्द्रबिन्दु भएर क्रमशः ४ दशमलव १ र ५ रिक्टरको परकम्प गएको थियो । २०७२ साल वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५०६ वटा परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: ८ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्