कञ्चनपुरमा फेरि गोली चल्यो, एकको मृत्यु


 


महेन्द्रनगर, भदौ ८
१३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । गोली प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन् ।

दिनभर शान्त रहेको महेन्द्रनगर बजारमा बेलुकीतिर भएको आन्दोलनले उग्र रुप लिँदा प्रहरीले गोली चलाएको हो । प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयतिर आउन खोजेपछि प्रहरीले गोली एक चलाउँदा १४ वर्षीय बालकको मृत्यु भएको छ । मृतकको नाम खुल्न सकेको छैन ।

प्रहरीको गोली लागेर कविन्द्र सिंह, सगुन सुवेदी, दामोदर खत्री, उमेश देउवा घाइते भएका छन् । जसमध्ये ३ जना अवस्था गम्भीर छ । घाइतेहरुलाई महाकाली अञ्चल अस्पतालमा लगिएको छ ।

गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको महाकाली अञ्चल अस्पताल प्रशासनले जनाएको छ । दिउँसो ३ बजेतिरबाट प्रदर्शनकारीले आन्दोलन शुरू गरेका र अहिले भीड बढ्दै गइरहेको छ ।

सरकारले उच्च स्तरीय छानबिन टोली गठन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरेपछि शुक्रवार बिहान साम्य भएको आन्दोलन दिउँसोबाट शुरू भएको थियो ।

प्रकाशित मिति: ८ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्