जेठसम्म विद्युत् निर्यात हुनेछः प्रधानमन्त्री ओली


 


विराटनगर, भदौ ५

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० वर्षभित्र व्यापार घाटा असन्तुलनबाट सन्तुलनमा लैजाने बताउनुभएको छ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नं १ द्वारा आज बिराटनगरमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेपालमा आगामी जेठसम्ममा निर्यात हुने बिजुली उत्पादन हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले अगामी दिनमा संयुक्त राष्ट्र सङ्घमा हुने सम्मेलनमा नेपाल सरकार फरक ढङ्गले प्रस्तुत हुने तथा बिम्स्टेक र सार्कलाई सक्रिय बनाउन नेपाल सरकारले पहल गर्ने जानकारी दिनुभयो ।

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले देशको समस्या हेरेर अघि बढ्न र जनतालाई मन नपर्ने काम नगर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “आफ्नो सेवा र सुविधाभन्दा पनि जनताको आवश्यकता र चाहनामा केन्द्रित हुन तथा जनतासँग मित्रवत् व्यवहार गर्न म जनप्रतिनिधिलाई आग्रह गर्छु ।”

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले समाजवादको यात्रालाई सार्थक बनाउन धनी र गरीबबीचको अन्तरलाई कम गर्दै जाने बताउँदै यस क्षेत्रका ठूला नदी नियन्त्रण र विकासका योजना आउने जानकारी दिनुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई नमूना प्रदेश बनाउनेतर्फ प्रदेश सरकार क्रियाशील रहेको बताउनुभयो । नेकपा प्रदेश नं १ का कार्यदल संयोजक भीम आचार्यको अध्यक्षतामा सो कार्यक्रममा भएको थियो । कार्यक्रममा विस्थापित किसान, इत्तेहाद मुस्लिम सङ्गठन, स्थानीय तहका कर्मचारी, उखु किसान, बाढीपीडित र सुनसरी मोरङ सिँचाइ आयोजनाका उपभोक्ता समूहले प्रधानमन्त्री ओलीलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका थिए । रासस

प्रकाशित मिति: ५ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्