उर्लाबारी नगरपालिकाद्धारा कर दररेट संशोधन


 


मोरङ, भदौँ ५

मोरङको उर्लाबारी नगरपालिकाले चालु आर्थिक वर्ष २०७५/७६ का लागि लागु गरेका कर दररेटहरु संशोधन गरेको छ । आज बिहान बसेको विशेष नगरसभाले जनताबाट असुन्तुष्टि र गुनाशाहरुलाई सम्बोधन गर्दै लागु गरिएको कर दरटेडमा संशोधन गरेको हो ।

नगरसभाले संशोधन गरेको कर दररेटका विषयमा आज बेलुका उर्लाबारी नगरपालिका परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगर प्रमुख फागोले लागु गरिएको करका विषयमा जनताको गुनाशो बढेपछि संशोधन गरिएको बताउनुभयो । नगरसभाले सम्पति कर र व्यवसाय करमा संशोधन गरेको हो । सम्पति करमा रु २५ लाखदेखी ५० लाखसम्म यसअघि प्रतिलाख रु १५ रुपैया कर लागु गरिएकोमा संशोधन गरेर रु १० बनाईएको छ ।

यस्तै रु ५० लाखदेखी ७५ लाखसम्म यसअघि प्रतिलाख रु २० कर लागु गरिएकोमा संशोधन गर्दै रु १० नै राखिएको छ । रु ७५ लाखदेखी १ करोडसम्म यसअघि प्रतिलाख रु ३० कर लागु गरिएकोमा संशोधन गर्दै रु १५ कायम गरिएको नगर प्रमुख फागोले बताउनुभयो । यसैगरी रु १ करोडदेखी २ करोडसम्म यसअघि प्रतिलाख रु ३५ कर लागु गरिएकोमा संशोधन गरेर रु २२ राखिएको छ । रु २ करोडदेखी ३ करोडसम्मको सम्पति करमा यसअघि प्रतिलाख रु ३५ नै रहेकोमा संशोधन गरेर रु २८ राखिएको छ ।

रु २ करोडदेखी रु ५ करोडसम्म यसअघि प्रतिलाख रु ४० कर लागु गरिएकोमा आज संशोधन गरेर प्रतिलाख रु ३५ कायम गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । नगरपालिकाले जनताका गुनाशा एवम् प्रतिक्रिया सुन्नका लागि पैसा नलाग्ने टोल फ्रि सेवा सुरु गरेको छ । अब उर्लाबारी नगरपालिकाको १६६०२१४२००० नम्बरको फोन गर्दा पैसा लाग्दैन । नगरपालिकाले फ्रि वाईफाई सेवा, सिमसार क्षेत्र, मदन भण्डारी स्मृति प्रतिष्ठान लगायतका क्षेत्रमा प्रबद्र्धन र विकाशमा जोड दिने नगर प्रमुख फागोले बताउनुभयो । नगरपालिकाले ८० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई उपचार खर्च उपलब्ध गराउने तयारी समेत गरेको छ ।

प्रकाशित मिति: ५ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्