पाइपलाईनबाट घरघरमा ग्यास, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन


 


बिराटनगर, भदौ ५

प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा पाइपलाइनबाट घरघरमा बायोग्यास वितरण कार्यक्रमको उद्घाटन गर्नुभएको छ । विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास पाइपबाट ३२ घरमा जडान गरिएको छ ।

प्रधानमन्त्री ओलीले पाइपबाट कार्यक्रम स्थलमै ल्याइएको वायोग्यासबाट चुल्हो बाल्नुभयो । उहाँले ग्यास सिलिण्डर हटाउनु ठूलो कुरा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब ३२ घरले काँधमा सिलिण्डरको डल्ला बोकेर हिड्नु पर्दैन । पाइपबाटै ग्यास आउँछ ।’ यस्तै परियोजना कास्की, स्याङ्जा लगायतका स्थानमा पनि काम भइरहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले यस्ता क्षेत्रमा लगानी गर्न उद्योगीहरुलाई आहृवान समेत गर्नुभयो । पहिलो चरणमा ४ सय मिटर पाइप ओछ्याएर ३२ घरमा ग्यास वितरण गरिएको छ । उपभोक्ताले ग्यास उपभोग गरे वापत प्रति किलो ८४ रुपैयाँ तिर्नुपर्नेछ । यो एलपी ग्यास भन्दा सस्तो हुन्छ । प्रधानमन्त्री ओलीसहित कानूनमन्त्री भानुभक्त ढकाल, उर्जामन्त्री वर्षमान पुनसहितका मन्त्रीहरु पूर्वको कार्यक्रमका लागि आज विराटनगर आउनुभएको हो ।

प्रधानमन्त्री ओलीले पहिलो कार्यक्रमका रुपमा आज दिउँसो विराटनगरमा पाइपबाट घरघरमा वायोग्याँस वितरण कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उहाँले वीरेन्द्र सभागृहमा १ नम्बर प्रदेश स्तरका नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरुलाई पनि सम्बोधन गर्नुभएको छ । कानून मन्त्री बनेपछि पहिलो पटक मोरङको आफ्नो निर्वाचन क्षेत्र नम्वर ३ आउनुभएका कानूनमन्त्री ढकालले पथरीशनिश्चरेमा भोली विहान नेकपाले आयोजना गर्ने कार्यक्रममा सरिक हुनुहुनेछ ।

सोही बाटो भएर झापा जाने क्रममा मन्त्री ढकालको निम्तोमा प्रधानमन्त्री ओली समेत पथरीशनिश्चरेमा हुने कार्यक्रममा सहभागी बन्नुहुनेछ । त्यसपछि प्रधानमन्त्री ओली भोली झापाको कमल गाउँपालिकाको लखनपुरस्थित आयुर्वेदिक औषधालयको शिलान्यास र दिउँसो गौरादहमा कार्यकर्ता भेटघाट कार्यक्रम सकेर भोली नै राजधानी फर्किनुहुनेछ ।

कानूनमन्त्री ढकाल भनें पथरीको कार्यक्रम सकेर कानेपोखरी, बेलबारी र सुन्दरहरैंचाका स्वागत कार्यक्रममा सरिक बन्ने पार्टीले जनाएको छ । त्यस्तै, उर्जामन्त्री वर्षमान पुन भोली विहान मोरङको मिक्लाजुङमा सौर्यउर्जा उद्घाटन् कार्यक्रममा सरिक हुनुहुनेछ ।

प्रकाशित मिति: ५ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्