बिराटनगरमा ससुराली घरमै पुगेर खुकुरी प्रहार


 


विराटनगर, ५ भदौ । विराटनगर महानगरपालिका – ११ मा एक व्यक्तिले आज विहान ससुराली घरमै पुगेरै पत्नी र झड्केली छोरीमाथि खुकुरी प्रहार गरेका छन् ।

४२ वर्षीय दिलिप सहनीले पत्नी ३७ वर्षीय पुनम सहनी र झड्केली छोरी मनिता सहनीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते दुबै जनाको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनीहरुको अनुहार, टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

सिरहाको गोलबजारमा बस्दै आएका दिलिपले विराटनगर आएपछि विहान ९ बजे दुबै जनालाई नियन्त्रणमा लिएर खुकुरी प्रहार गरेर हत्याको प्रयास गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले बताउनु भयो । पुनम दिलिपकी कान्छी पत्नी हुन् । प्रहरीका अनुसार चार वर्ष अघि पति प्रविण सहनीको मृत्यु भएपछि उनी विराटनगर ११ स्थित माइतमै बस्दै आएकी थिइन । पुनमले दिलिपसंग सात महिना अघि मात्रै दोस्रो विवाह गरेकी थिइन । खुकुरी प्रहारबाट घाइते भएकी मनिता पुनमकी प्रविणतर्फकी छोरी हुन् ।

दिदी र भान्जीलाई काट्दै गरेको देखेर छुट्याउनका लागि पुगेका दिलिपका सालो २७ वर्षीय सन्दिप सहनीको पनि हातमा खुकुरीको चोट लागेको छ । प्रहरीका अनुसार विवाह गरेपछि पुनमलाई सिरहा लिएर गएका दिलिपले त्यहाँ पनि धेरै कुटपिट गर्ने गरेका कारण सहन नसकेर पुनम दुई साता अघि विराटनगर स्थित माइतमै आएर बसेकी थिइन ।

ससुराली घरमै आएर खुकुरी प्रहार गर्ने दिलिपलाई भने भाग्न खोज्दै गर्दा स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्