अमेरिकी दूतावासमा गोली प्रहार


 


अङ्कारा, भदौ ५
टर्कीमा रहेको अमेरिकाको दूतावासमा गोली प्रहार भएको छ ।

सोमबार भएको गोली प्रहारबाट कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन् ।
दूतावासमा छ ओटा गोली प्रहार भएको थियो । गोली फलामे ढोका र दूतावासको भित्तामा लागेको थियो ।

दूतावासमा प्रवक्ता डेभिड गाइनरले घटनास्थललाई अहिले सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिइसकेको एएफपीलाई बताउनुभयो ।
“घटनामा परी कोही घाइते भएको वा कसैको मृत्यु भएको विवरण छैन, हामीले घटनाका बारेमा विस्तृतमा अध्ययन गर्न लगाइसकेका छौँ, टर्कीको सुरक्षाकर्मीलाई विशेष धन्यवाद दिन चाहन्छौँ,” प्रवक्ताले भन्नुभयो ।

टर्कीका विदेशमन्त्री मेवलुट काभुसोग्लुले सामाजिक सञ्जाल ट्वीटरमार्फत् ‘उत्तेजनात्मक आक्रमण’को निन्दा गर्नु भएको छ । अमेरिकी धर्मगुरुको रिहाइका लागि इस्तानबुलद्वारा राखेको शर्त अस्वीकार गरेकै बेला यस्तो घटना भएको हो ।

 

प्रकाशित मिति: ५ भाद्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्