राष्ट्रसङ्घका पूर्वमहासचिव कोफी अन्नानको निधन


 


जेनेभा, स्विट्जरल्याण्ड, २ भदौ
राष्ट्रसङ्घका पूर्वमहासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार निधन भएको छ । उहाँ ८० वर्षको हुनुहुन्थ्यो ।

पूर्वमहासचिव अनानको मृत्युको खबरले आफूहरूलाई स्तब्ध बनाएको शोक सन्देशहरू विश्वभरबाट प्राप्त भएका उहाँको संस्थाले जनाएको छ ।

घानामा जन्मनुभएका अन्नान पछिल्लो समय स्विट्जरल्याण्डमा बसोबास गर्दै आउनुभएका अन्नानले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसङ्घको प्रमुखका रूपमा दुई कार्यकाललाई सफलतापूर्वक पूरा गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घका भूतपूर्वमहासचिव कोफी अन्नानको स्विटजरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

राष्ट्रसङ्घका पूर्वमहासचिव अन्नानको निधनबारे उहाँको परिवारले पुष्टि गर्दै भनेको छ, अन्नानले विश्वव्यापी राजनेताको छवि बनाएर आफ्नो देहत्याग गर्नुभएको छ ।

उहाँले जीवनभर मानव समानता तथा शान्तिपूर्ण विश्वका लागि कटिबद्ध रहेर मृत्युपर्यन्त काम गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घको सबैभन्दा उच्च पदमा पुग्ने अन्नान पहिलो अश्वेत अफ्रिकी नागरिक हुनुहुन्थ्यो । सन् २००१ मा अन्नानलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

अन्नान पछिल्ला दिनहरूमा श्रीमती नेन र तीन सन्तान अमा, काजो र नीनासहित स्विट्जरल्याण्डमा बस्दै आउनुभएको थियो ।

प्रकाशित मिति: २ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्