जमीन बाँझो राख्नुभएको छ ? होस् गर्नुहोस् कारबाहीमा पर्नुहोला


 


रत्ननगर, भदौ २
यदि तपाईले जमीन बाँझो राख्नुभएको छ भने सदुपयोगमा ल्याउनुहोस् । यदि मान्नुभएन भने कारबाहीमा पर्नुहोला ।

यो व्यवस्था रत्ननगर नगरपालिकाले गरेको छ । उत्पादनमूलक जग्गालाई बाँझो राखेर छाड्नेलाई नगरसभाबाटै निर्णय गरी जरिवाना लिन थालिएको नगर प्रमुख नारायण वनले जानकारी दिए ।

नगरपालिकाले कारबाही गर्न पनि सुरु गरिसकेको छ । अहिलेसम्म विभिन्न वडामा बाँझो जमीन राख्नेहरुबाट एक लाख ३६ हजार रुपैयाँ उठाइसकेको छ । जुन राजश्वमा जोडिएको छ। नगरपालिकाले बाँझो जमीन राखेको पाइएमा प्रतिकठ्ठा रु ५०० का दरले जरिवाना लिने गरेको छ ।

सबैभन्दा बढी वडा नं १४ मा जग्गा खाली रहेको जानकारी दिँदै वडाध्यक्ष हरिकुमार श्रेष्ठले कारबाही थालेपछि केही जग्गा धनी सचेत हुन थालेको बताए । बाँझो जमीनलाई खेती गर्न दिने विषयमा छलफल चलाइए पनि फेरि जग्गाको स्वामित्वमा समस्या पर्ने भएकाले जग्गावाला डराएको नगरपालिकाको भनाइ छ ।

नगरपालिकाले यहाँको सरकारी जग्गाको संरक्षण अभियानसमेत अगाडि बढाएको जग्गा संरक्षण समितिका संयोजक हरिकुमार श्रेष्ठले बताए । उनका अनुसार अहिलेसम्म करीब ३० विगा सार्वजनिक जग्गा खोजी गरी संरक्षण गरिएको छ । ठाउँठाउँमा भने जग्गामा विवाद भएकाले निकास निस्कन सकेको छैन । रासस

प्रकाशित मिति: २ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्