सप्तकोशीको पूर्वी तटबन्ध फुटेको आज १० वर्ष पूरा


 


सुनसरी, भदौँ २

नेपालको सबैभन्दा ठूलो नदीका रुपमा रहेको सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको आज १० वर्ष पूरा भएको छ । विनाशकारी बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पनि पीडितले सम्झिरहेका छन् ।

विसं २०६५ भदौ २ गते दिउँसो १ बजेर २६ मिनेट जाँदाको समयमा आजैका दिन कोशीनदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पानी पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरुपमा तथा लौकही गाविस आंशिकरुपमा प्रभावित भएका थिए । कोशीको पानी गाउँमा पसेपछि त्यहाँका स्थानीय विस्थापित भएका थिए ।

विस्थापित भएका पीडित विस्तारै आफ्नो पुरानो दैनिकी अवस्थामा फर्किन थालेको छ । बाढीबाट क्षति भएको जग्गा अहिलेसम्म पूर्ण अवस्थामा आउन नसकेको तथा सरकारले घोषणा गरेको राहत पूर्णरुपमा समेत पाउन नसकेको कोशी गाउँपालिका–६ का बिन्देश्वर मेहताको गुनाशो छ ।

सुनसरीको साविक पश्चिम कुशाहा–४ र अहिले कोशी गाउँपालिका–३ स्थित कोशी नदीको पूर्वी तटबन्धकोे स्पर नम्बर १२ दशमलव १० तथा स्पर नम्वर नम्बर १२ दश्मलव ९० बीचमा पानीको धक्काले फुटेर विनाशकारी बाढी गाउँमा पसेको थियो । कोशीको भङ्गालो गाउँमा पसेकाले सात हजार ५६३ परिवारका ४२ हजार ७६५ जना स्थानीय विस्थापित भएको दिन आज १० वर्ष पूरा भएको छ । तर विस्थापित भएका कोशी पीडितको जनजीविका अझै पूर्वावस्थामा फर्कन नसकेर अधुरै छ । रासस

प्रकाशित मिति: २ भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्