हलिया मुक्ति समाजका अध्यक्षले घुस मागेको आरोप, प्रशासनमा उजुरी


 


बैतडी, साउन २८

बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्तहलियाले आफूहरुसँग घुस मागेको भन्दै जिल्ला हलिया मुक्ति समाजका सदस्य वीरभान कोलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा आइतबार निवेदन दिएका छन् ।

नेपाल सरकारको हलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत आफूहरुले प्राप्त गरेको रकममा रु आठ हजारका दरले रकम मागेको मुक्तहलियाले बताएका छन् । जिल्ला प्रशासन कार्यालयमा संयुक्तरुपमा निवेदन दिँदै उनीहरुले आफूहरुको रकम फिर्ता गरिदिन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेका छन् ।


जिल्ला मालपोत कार्यालयमार्फत आफूले पाएको रकममा कोलीले रु आठ हजारका दरले मागेको मुक्तहलिया वीरभान महरले बताउनुभयो । साउन १७ गते ग्वाल्लेकका दुखी रानासँग रु १६ हजारमध्ये रु नौ हजार ५०० घुस मागेपछि घटना बाहिर आएको हो । रु नौ हजार ५०० मागेपछि आफूले प्रहरीमा निवेदन दिएको र वीरभान कोलीले पछि रकम फिर्ता गरेको रानाले बताउनुभयो ।

मुक्तहलियाले दिएको निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रैले यो विषयमा छानबिन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मुक्तहलियाबाट पैसा मागेको पाइएमा कानूनअनुसार कारवाही गरिने छ ।”

मुक्तहलियाको रकममा जिल्लाभरि दुरुपयोग हुनसक्ने हलिया मुक्ति समाजका पूर्वकेन्द्रीय अध्यक्ष राजुराम भुलले बताउनुभयो । तर जिल्ला हलियामुक्ति समाजका सदस्य वीरभान कोलीले भने आफूले पैसा नलिएको दाबी गर्नुभयो । आफूलाई फसाउन राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाएको उहाँको दाबी छ ।

बैतडीमा गत आवमा एक हजार मुक्तहलिया परिवारका लागि मुक्तहलिया पुनःस्थापना कार्यक्रमअन्तर्गत रकम आएको थियो । सरकारले मुक्तहलियालाई घर निर्माणका लागि रु तीन लाख २५ हजार, जग्गा खरीदका लागि रु दुई लाख र घर मर्मतका लागि रु एक लाख २५ हजारका दरले रकम दिँदै आएको छ । बैतडीमा दुई हजार २२ जना मुक्तहलिया रहेको तथ्याङ्क छ ।

प्रकाशित मिति: २८ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्