उर्लाबारीबाट खसी चोर पक्राउ, गिरोह नै रहेको खुलाशा


 


मोरङ, साउन २४

उर्लाबारी र आसपासका क्षेत्रहरुमा केही समययता पशु चौपया चोरीको घटना मौलाएको छ । हिजो खसी चोरी गरी लैजाँदै गर्दा एक ब्यक्ति रंगेहात पक्राउ परेपछि पशु चौपया चोरी गर्ने गिरोह नै रहेको पाइएको हो ।

उर्लाबारी–४ स्थित बक्राहाधारमा बसोबास गर्ने अरुण धिमालको खसी हिजो दिउँसै चोरी भएको थियो । बक्राहा खोला पुलमुनि पगाहा लगाएकै ठाउँबाट खसी चोरी गरी ट्याम्पुमा लोड गर्न लागेको अवस्थामा दमक–८ का २० बर्षीय सुरज श्रेष्ठ रंगेहात पक्राउ परेका हुन् ।

खसी धनीले हारगुहार गरेपछि स्थानीयबासी र प्रहरीले आइतबारेबाट श्रेष्ठलाई खसीसहित नियन्त्रणमा लिएका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीको थुनामा रहेका श्रेष्ठलाई केरकार गर्दा पशु चौपाया चोरीमा अन्य ब्यक्तिहरु पनि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

श्रेष्ठकै बयानका आधारमा आज विहान दमकको रतुवाखोलाबाट अर्का शंकास्पद ब्यक्तिलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । प्रहरी निरीक्षक तिमल्सिनाका अनुसार श्रेष्ठलाई आज म्याद थप गरिएको छ भने ती शंकास्पद ब्यक्तिका बारेमा अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतले भन्यो–‘एउटा खसी चोरिएको मात्र नभएर विगतदेखि नै गिरोह खडा गरेर श्रेष्ठलगायत समूहले पशु चौपया चोरी गरेको खुल्न आएको छ ।’

यसअघि गत जेठमा उर्लाबारी–४ का सुवास भण्डारीको गोठबाटै दुई माउ भैसी पनि चोरी भएको थियो । २ लाख भन्दा बढी मूल्यका दुहुना भैसी चोरी भएपछि आफ्नो निदहराम भएको भण्डारी बताए । ती भैसी पनि श्रेष्ठ समूहले चोरी गरेको हुन सक्ने भण्डारीको आशंका छ ।

प्रकाशित मिति: २४ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्