चार वर्षमा ४ हजार ४४५ महिला बलात्कृत, यस्तो छ हरेक दिनको तथ्यांक


 


काठमाडौं, साउन २४
नेपालमा बलात्कृत हुनेको संख्या दिनानु दिन बढ्दै गएका छन् । पछिल्लो तथ्यांकले नेपालमा हरेक दिन औसत तीनजना महिला बलात्कृत हुने गरेको देखिएको छ । नयाँ पत्रिकामा खबर छ ।

अन्य दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् ।

बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ । बलात्कार प्रयासका घटना झन् बढी अर्थात् हरेक वर्ष १६ प्रतिशतका दरले बढेको छ ।

बलात्कारीको निसानामा धेरैजसो बालिका पर्ने गरेको प्रहरी तथ्यांकले देखाउँछ । नेपाल प्रहरीको तथ्यांकअनुसार बलात्कृत हुनेमा सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेरका बालिका छन् । त्यसपछि १० वर्षमुनिका बालिका छन् । बालिका र किशोरी मात्रै होइन, वृद्धासमेत बलात्कारको सिकार भएका छन् ।

चार वर्षमा मुलुकभर ४ हजार ४ सय ४५ महिला बलात्कृत भए । त्यसमध्ये १० देखि १६ वर्ष उमेरका बालिका १ हजार ३ सय १३ छन् । १० वर्षमुनिका ८ सय २० बालिका बलात्कृत भए । १७ देखि १८ वर्ष उमेरका ४ सय ५१ जनामाथि बलात्कार भएको छ । चार वर्षमा बलात्कृत भएका १ हजार ५ सय १६ जना भने २० वर्षमाथिका छन् ।

गएको ३६ महिनामा मुलुकभर एक हजार पाँच सय ५० महिला तथा बालिकामाथि बलात्कारको प्रयास भएको छ । अर्थात् मुलुकभर प्रत्येक दिन झन्डै दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको तथ्यांकले देखाउँछ । यो संख्या प्रत्येक वर्ष झन्डै १६ प्रतिशतले बढेको देखिन्छ । पीडित अधिकांश बालिका नै छ ।

प्रकाशित मिति: २४ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्